कैलालीमा २०४ वटा मानव अधिकार उल्लघंनका घटना, महिला हिंसाका घटना सबैभन्दा बढी

राज्य पक्षबाट १४ जना र गैरराज्य पक्षबाट १ सय ९९ जना पीडित

Dhangadhi Khabar    

कैलालीमा २०४ वटा मानव अधिकार उल्लघंनका घटना, महिला हिंसाका घटना सबैभन्दा बढी

धनगढी । कैलालीमा सन् २०२० को अवधिमा २ सय ४ वटा मानव अधिकार उल्लघंनका घटना भएको तथ्याङक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा २ सय ४ वटा मानव अधिकार उल्लघंनका घटना भएका हुन । सन् २०२० जनवरीदेखि डिसेम्बर सम्म भएका २ सय ४ वटा घटनामा २ सय ९ जना पीडित भएका छन ।

जसमध्ये राज्य पक्षबाट १४ जना र गैरराज्य पक्षबाट १ सय ९९ जना पीडित भएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडक राज जोशीले जानकारी दिए । उनका अनुसार नागरिक तथा राजनीतिक अधिकारबाट ३० जना, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट दुईजना, जातिय विभेदबाट चारजना, महिला अधिकारबाट १ सय ३४ जना र बालअधिकारबाट ३९ जना पीडित भएका हुन ।

यस्तै यस अवधिमा महिला र बालिका गरी १ सय ८१ जना पीडित भएको इन्सेकको तथ्याङकमा उल्लेख छ । घरेलु हिंसाबाट मात्रै ८१ जना महिला पीडित भएका छन । भने २८ जना महिलामाथि बलात्कार र १२ जना महिलामाथि बलात्कारको प्रयास गरिएको छ । यसैगरी दुईजना महिला कथित बोक्सीको आरोपमा पीडित भएका छन । भने मानव बेचबिखन तथा ओसारपसारबाट ११ जना र बहुविवाहबाट चारजना महिला पीडित र चारजना महिलाको परिवारजनबाट हत्या गरिएको इन्सेकको तथ्याङकले देखाएको छ ।

यस्तै यस अवधिमा ३९ जना बालिकाहरु पीडित भएका छन । जसमध्ये ३० जना बालिकामाथि बलात्कार र नौ जना बालिकामाथि यौन दुव्र्यवहार भएको छ । बलात्कृत बालिकामध्ये पाँचजना बालिकाहरु बुवा बाट बलात्कृत भएको घटना इन्सेकले अभिलेख गरेकोे छ ।

यसैगरी जातिय बिभेद घटनाबाट चारजना पीडित भएका छन भने जंगलमा वेवारिसे अवस्थामा फेला परेको बस्तु विस्फोट हुँदा एकजनाको मृत्यृ, तीनजना पत्रकारहरुमाथि कुटपिट र जिल्लामा दुईजना प्रहरीको हत्या गरिएको घटना समेत इन्सेकको तथ्याङकले देखाएको छ ।

राज्यबाट हुने मानव अधिकारका घटनामा कमी आए पनि समग्रमा कैलाली जिल्लाको मानव अधिकारको अवस्था नाजुक देखिएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक जोशीले जानकारी दिए ।



बिहिबार १६, पुष २०७७ ०६:३० मा प्रकाशित

#मानव अधिकार #कैलाली #इन्सेकको तथ्याङ
Loading...

प्रतिकृया दिनुहोस