बजेटलाई परिणाम दिने गरी खर्च नगरे कार्यकर्ता पोस्ने बाहेक केही हुनेवाला छैनः नेता रावल

बजेटलाई परिणाम दिने गरी खर्च नगरे कार्यकर्ता पोस्ने बाहेक केही हुनेवाला छैनः नेता रावल

धनगढीः प्रदेश स्तरीय गौरवको योजना आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नसमेटिएको भन्दै प्रदेश नम्बर ७ को सरकारको आलोचना भएको छ। 

प्रदेश सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न आज बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सो आलोचना गरेको हो।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले बजेटमा सबै शीर्षकलाई समेट्न खोजिएपनि प्रदेशका गौरवको आयोजना नसमेटिएको भन्दै सरकारको आलोचना गरे। 

उनले भने, ‘बजेटले नछोएको शीर्षक पनि छैन। तर प्रदेश नम्बर ७ ले गौरव गर्ने खालको आयोजनाहरू पनि ल्याएको छैन।’

प्रदेश सरकारले गन्तव्य विहीन बजेट ल्याएको टिप्पणी नेपाली कांग्रेसले गरेको छ। रावलले भने, ‘गन्तव्य विहीन बजेट प्रदेश सरकारले ल्याएको छ। यस्तो बजेटले कुनै पनि उपलब्धि हासिल गर्न सक्दैन। न त कुनै सिद्धान्तले यसलाई स्वीकार गर्छ।’

उनले थपे ‘नेपाली जनताको टाउकोमा ऋण थुपारेर ल्याएको बजेट हो। यसलाई खर्च गर्दा परिणाम दिने हुनुपर्छ। होइन भने कार्यकर्ता पोस्ने बाहेक केही हुनेवाला छैन।’

पुजीँगत भन्दा चालु खर्चमा बढी बजेट विनियोजन गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री झपट बोहोरको क्षमता माथि आशङ्का व्यक्त गरे। 

‘सबै प्रदेशका अर्थमन्त्री भन्दा प्रदेश ७ का अर्थमन्त्रीको वेट राम्रो देखिन्छ,’ रावले भने, ‘तर सबै प्रदेशको बजेट हेर्ने हो भने अरू प्रदेशको राम्रो देखिन्छ। हाम्रो प्रदेशमा पुजीँगत भन्दा चालुगत बजेट बढी आएको छ।’