डडेल्धुरामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो !

डडेल्धुरामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो !

डडेल्धुरा । डडेल्धुरामा सम्बन्धविच्छेदका घटनामा बढ्दै गएका छन्। डडेल्धुरा जिल्ला अदालतमा पछिल्लो ६ महिनामा ३७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।

जिम्मेवारी सरी आएका मुद्दाको यस वर्ष हालसम्म जिल्ला अदालतमा मुद्दाको संख्या १३६ छ। यीमध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका ३७ वटा छन्। ३७ मध्ये २० वटा फर्छ्यौट भएका र १७ वटा बाँकी रहेको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए। उनले सम्बन्धविच्छेदका घटना वृद्धि हुनुमा बालविवाह गर्नेको संख्या बढ्दै जानु र महिलाहरू सचेत हुनु रहेको बताए।

पुरुष र महिलाबीच सम्बन्धविच्छेदका लागि सहमति भए एक महिनाभित्र मुद्दा किनारा लाग्ने छ भने पछिल्लो ऐनले सहमति कायम हुन नसक्दा एक वर्षसम्म मुद्दा फैसला नहुने व्यवस्था गरेको छ।

जिल्ला अदालत डडेल्धुराको तथ्यांकअनुसार २०७७÷७८ को पछिल्लो ६ महिनामा जम्मा मुद्दाको संख्या १३६ रहेको छ। जसमा ५७ मुद्दा फछ्र्यौट भएको र ७९ बाँकी छन्।

शुक्रबार अदालतले गरेको पत्रकारसँगको अन्तरक्रियामा अन्य जिल्लाको तुलनामा डडेल्धुरामा मुद्दाको संख्या कम भएको न्यायाधीश हरिप्रसादशर्मा उपाध्याय पंगेनीले बताए। उनका अनुसार अनुसार कोरोना भाइरसको कारणले दर्ता भएका मुद्दा फर्छ्यौट गर्न बढी बाँकी रहेको हो। उनले कतिपय मुद्दा कानुनी हिसाबले पनि ढिलो हेर्नुपर्ने भएकाले हेर्न चाँडो हेर्न नपाइने बताए।

चालु आर्थिक वर्षको अहिलेसम्म जबरजस्ती करणी तथा उद्योग मुद्दा १७ वटा परेका छन्। जसमध्ये १६ फर्छ्यौट भइसकेका छन् भने एक मुद्दा बाँकी छ। कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका १० मुद्दा छन्। जसमध्ये पाँच फर्छ्यौट भइसकेका छन्। वनसम्बन्धी नौवटा मुद्दामध्ये तीनवटा फर्छ्यौट भएका छन्। जग्गा खिचोलासम्बन्धी ६ वटा मुद्दामध्ये सबै मुद्दा फर्छ्यौट भइसकेका छन्।

चोरीका मुद्दा पाँच दर्ता भएकोमा ती सबै फर्छ्यौट हुन बाँकी छन्। यस्तै, चेक अनादरका मुद्दा चार छन्। ती चार फर्छ्यौट भइसकेका छन्। लेनदेन र कुटपिटका मुद्दा पाँच–पाँच गरी १० मुद्दा अदालत पुगेका थिए। यीमध्ये चार–चार गरी आठ मुद्दा फर्छ्यौट भएको अदालतका तहशिलदार पुष्प जोशीले जानकारी दिए। -थाहा खबर