प्रधानमन्त्रीको आरोपपछि सभामुखको सचिवालयको स्पष्टिकरणः भ्रम उत्पन्न गर्नुको अर्थ छैन

प्रधानमन्त्रीको आरोपपछि सभामुखको सचिवालयको स्पष्टिकरणः भ्रम उत्पन्न गर्नुको अर्थ छैन

काठमाडौँ  । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावका सन्दर्भमा सभामुखले किर्ते गरेको आरोप लगाएका थिए । सभामुखले अपराहन्न ३ बजे आएको प्रस्तावलाई सभामुखले दबाब दिएर बिहान साढे १० बजे आएको बनाएको भन्दै प्रधानमन्त्रीले सभामुखको आलोचना गरेपछि सभामुखको सचिवालयले एक विज्ञप्ति जारी गर्दै स्पष्ट गरेको हो ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गदै पुस ५ गते ९० जना सांसदले संघीय संसद् सचिवालयमा दर्ता गरेका अविश्वासको प्रस्तावका सन्दर्भमा आफूलाई समेत जोडेर टिप्पणी गरिएको भन्दै उनले थप स्पष्ट पार्न प्रेस नोट जारी गरिएको उल्लेख गरेका छन् ।

प्रेस नोटमा भनिएको छ, सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिनुभएको हो । तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन ।

तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरूप सिर्जना गरिएको भ्रममा नपर्न प्रेस नोटमा आग्रह गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद् सचिवालयका प्रवक्ताद्वारा यही पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमा स्मरण गरिएको छ ।