प्रतिनिधिसभा विघटनबारे राय दिन पाँच जना ‘एमिकस क्युरी’ चयन

प्रतिनिधिसभा विघटनबारे राय दिन पाँच जना ‘एमिकस क्युरी’ चयन

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधिसभा विघटनबारे राय दिन नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले पाँच जना ‘एमिकस क्युरी’ चयन गरेको छ । नेपाल बार एसोसिएसनबाट तीन जना र सर्वोच्च अदालत बारबाट दुई जना वरिष्ठ अधिवक्तालाई चयन गरेको हो ।

नेपाल बार एसोसिएसनले बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको हो भने सर्वोच्च अदालत बार एसोसिएसनले खगेन्द्र अधिकारी र पूर्णमान शाक्यको नाम चयन गरेको हो । प्रतिनिधिसभा विघटनको विषयमा विवादको विषयमा चयन भएका पाँच जना वरिष्ठ अधिवक्ताले इजलाससमक्ष स्वतन्त्रतापूर्वक आफ्नो राय राख्न सक्नेछन् । कानुनी भाषामा एमिकस क्युरी भनेको अदालतको सहयोगी हो । ‘एमिकस क्युरी’ हुन पाउनु वरिष्ठ अधिवक्ताका लागि प्रतिष्ठाको विषय हो ।

‘एमिकस क्युरी’ अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो । इजलासले आफूसमक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनका प्राध्यापक, कानुन व्यवसायी र विषय विज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पु-याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी)का रूपमा झिकाई निजको राय लिन सक्नेछ ।

सामान्यतयाः एमिकस क्युरी भनेको सामान्य भाषामा अदालतको सहयोगी विषय ज्ञाता हो । कुनै पनि जटिल विषय ठहर गर्नुपर्ने प्रश्न समावेश भएको मुद्दा इजालससम्म आइसकेपछि इजालसले कहिलेकाहीँ के विचार गर्छ भने दुवै पक्षका तर्कहरू बलवान् रहेका छन् । अदालतले कानुन व्यवसायीको छाता संगठन बारसँग अनुरोध गर्छ । त्यसपछि स्वतन्त्र रूपमा जटिल भएको विषयमा ज्ञान राख्ने वरिष्ठ अधिवक्तालाई अदालतमा निम्न मितिमा उपस्थित गराइदिनुहोला भनी अदालतले कागजपत्र पठाएर अनुरोध गर्छ । सोबमोजिम सर्वोच्च बार र नेपाल बारबाट तीन तीन जना वरिष्ठ अधिवक्तालाई अदालतमा राय राख्नेछन् । उनीहरूको राय समेतलाई मध्यनजर गर्दै अदालत एउटा निष्कर्षमा पुग्ने गर्दछ ।   -राजधानी दैनिकमा खबर छ ।