यस्तो रहने छ आज दिनभरको मौसम !

यस्तो रहने छ आज दिनभरको मौसम !

काठमाडौं । काठमाडौंसहित मुलुकका विभिन्न पहाडी भूभागमा बिहानीपख छिटफुट वर्षा भएको छ । मौसम विभागले दिएको जानकारीअनुसार पश्चिमी वायुको प्रभावका कारण देशैभर मौसममा बदली आएको हो ।

मौसमविद् समीर श्रेष्ठका अनुसार उच्च हिमाली भूभागमा हिउँ परेको छ भने काठमाडौंसहित देशैभरका बाँकी भूभागमा मौसम बदली भइरहेको छ । काठमाडौंसहित अन्य केही पहाडी भूभागमा पनि आज छिटफुट वर्षा हुने अनुमान विभागको छ । बुधबारसम्मै मौसमको अवस्था यस्तै रहन सक्ने उनले जानकारी दिए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रको अधिकांश स्थानमा आज सोमबार दिनभरि मौसम बदली रहने जनाइएको छ। पश्चिमी वायुको प्रभावले दिनभरि तराई क्षेत्रमा पानी पर्ने र पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।