हिउँदे अधिबेशन गर्ने पहिलो स्थानीय तह बन्यो कैलारी गाउँपालिका

हिउँदे अधिबेशन गर्ने पहिलो स्थानीय तह बन्यो कैलारी गाउँपालिका

धनगढी  : स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ अनुसार हरेक स्थानीय तहको सभा बैठक बर्षमा दुई पटक हुनुपर्छ । पहिलो बैठक भएको छ महिना पछि दोस्रो बैठक गर्नुपर्छ । तर कैलाली जिल्लाका कुनै पनि स्थानीय तहले बजेट सभा बाहेक हिउँदमा आयोजना गर्नुपर्ने बिधेयक अधिबेशन गरिहेका छैनन् ।

हिउँदे अधिबेशन गर्ने जिल्लाकै पहिलो स्थानीय तह कैलारी गाउँपालिका बनेको छ । कैलाली गाउँपालिकाले स्थानीय सरकार संचालन ऐनको प्रावधान अनुसार हिजोदेखि गाउँ सभा बैठक शुरु गरेको छ ।

गाउँसभाको हिउँदै बैठकमा छलफलका लागि गाँउ कार्यपालिकाले तीनवटा बिधेयक सभामा पेश गरेको छ । गाउँ सभाको बैठकमा सो क्षेत्रबाट प्रदेश सभा प्रतिनिधित्व गर्ने प्रदेश सासंद बीरमान चौधरीले सम्बोधन गरेपछि उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले गाउँ कार्यपालिकाको तर्फबाट स्थानीय कृषि प्रवद्र्धन बिधेयक २०७५, अपाङ्गता परिचय पत्र बितरण कार्यविधि २०७५ र बजार अनुगमन कार्यविधि २०७५ छलफलका लागि पेश गर्नुभएको छ ।

तीनवटा बिधेयक पेश भएपछि गाउँ सभाको बैठक पुस २६ गते फेरी बस्ने गरी स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभएको छ । उहाँले सबै बिधेयकहरुमा २६ गतेदेखि दफावार छलफल हुने जानकारी दिनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ४ मा दफा १९ को उपदफा १ मा स्थानीय तहको सभा बैठक बर्षको दुई पटक बस्ने ब्यवस्था गरिएको छ । तर कैलालीका कैलारी गाउँपालिका बाहेक कुनै पनि स्थानीय तहले हिउँदे सभा बैठक आयोजना गरेका छैनन् ।