निर्वाचन तयारीमा आयोगः मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन गरिदै

निर्वाचन तयारीमा आयोगः मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन गरिदै

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ स्वीकृत गरेको छ । आयोगको मंगलबार बसेको पदाधिकारी बैठकले मतदान केन्द्र निर्धारण र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यविधि र कार्यक्रम स्वीकृत गरेको हो ।

१७ र २७ वैशाख २०७८ का लागि तय मध्यावधि निर्वाचनका लागि तयारी अघि बढाएको आयोगले निर्वाचनलक्षित गरेर कार्यविधि र कार्यक्रम स्वीकृत गरिएको जनाएको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदान केन्द्र निर्धारण आधार कार्यविधिमा रहेको र त्यसलाई कार्यान्वयन गर्ने काम कार्यक्रममार्फत हुने जानकारी दिए ।

‘आयोगले मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ, कार्यविधिले केन्द्र निर्धारण गर्ने आधार तय गर्छ, कार्यविधिका प्रावधानका आधारमा मतदान केन्द्र पायक अपायक तथा थप गर्नुपर्ने भए त्यसअनुसार पुनरावलोकन निर्णय हुन्छ,’ आयोग प्रवक्ता श्रेष्ठले मंगलबार राजधानीसँग भने ।

उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु भएकै समय पारेर मतदान केन्द्र निर्धारण, स्थल तथा केन्द्र पुनरावलोकनसहितका विषयमा निर्णय गर्न सहज बनाउन आयोगले यस्तो निर्णय लिएको हो । भोलि २३ पुसबाट जिल्लास्तरमा मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुने छ ।

जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीले मतदाता नामावलीमा नाम रहेका मतदाता संख्याअनुसार केन्द्र पायक अपायक वा थप गर्नुपर्ने भए आवश्यक सुझावसहितको निर्णय दिनसक्ने छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदानस्थल तथा केन्द्र सिफारिस समिति रहने छन् ।

समितिले आगामी १७ माघसम्ममा सो कार्य सम्पन्न गरिसक्नुपर्नेछ । आयोगले सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरेको छ ।

आयोगले निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारी प्रक्रिया सुरु भइसकेको र नामावली तयारीसम्बन्धी कार्य गर्दा मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्यसमेत सँगै गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नुअगावै स्थल तथा केन्द्र पुनरावलोकन कार्य सम्पन्न गरिने जनाएको छ ।

सरकारले आगामी १७ र २७ बैशाखमा गरी दुई चरणमा सम्पन्न गर्ने गरेर प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेगरी निर्वाचन मिति घोषणा गरिसकेको छ । आयोगले घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीका विभिन्न कार्य भइरहेको पनि जनाएको छ । -राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।