अमेरिकामा ट्रम्पका समर्थकको आतंकका कारण राजधानी वाशिङ्टनमा निषेधाज्ञा

अमेरिकामा ट्रम्पका समर्थकको आतंकका कारण राजधानी वाशिङ्टनमा निषेधाज्ञा

अमेरिकाको संसद भवन क्यापिटल बिल्डिङभित्र पसेर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिँसा मच्चाएका छन्। त्यसलगत्तै राजधानी वाशिङ्टनमा निशेधाज्ञा जारी गरिएको छ। 

हिंंसामा अहिलेसम्म एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। तर, मृत्यु हुनेको नाम खुलाइएको छैन। गोली लागेर मृत्यु हुने महिला रहेको जनाइएको छ।

कंग्रेसमा आज डेमोक्र्याट उम्मेद्वार जो बाइडेनको विजय पुष्टि गर्ने कार्यसूची थियो। तर, ट्रम्प समर्थकले क्यापिटल भवन घेराउ गरेर नाराबाजी गरेका थिए। उनीहरुले भवनलाई कब्जामा लिने प्रयास गरेका थिए। प्रहरीले कंग्रेस भवनभित्र पसी आक्रमणमा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरिसकेको छ। तीमध्ये पाँच जनाबाट बन्दुक जफत भएको जनाइएको छ।

संसदभवन भित्र र बाहिर हिंसा भड्किएपछि वाशिङ्टनकी मेयर मुरियल बाउजरले निशेधाज्ञा जारी गरेकी छिन्। क्यापिटल बिल्डिङभित्र रहेका संवाददाताहरुलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार सुरक्षा प्रमुखले वाशिङ्टनमा निषेधाज्ञा लागेको खबर सुनाउँदा सांसदहरुले ताली बजाएका थिए।

अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस भइरहेको बेला ट्रम्प समर्थकहरुले आक्रमण गरेका थिए। उनीहरुले राष्ट्रपति निर्वाचनमा केही राज्यको नतिजालाई अस्वीकार गर्दै आएका छन्।

सदन चलिरहेकै बेला ट्रम्प समर्थक बैठकस्थलमा पुगेपछि बहस रोक्नु परेको थियो। ट्रम्पका समर्थकले चुनाव रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए। त्यसपछि केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

संसद भवनभित्र गोली चलेको थियो। एउटा अग्निनियन्त्रक यन्त्र विष्फोट पनि भएको थियो। तर, त्यो कसले विष्फोट गरायो भन्ने खुलेको छैन।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यसलाई ‘विद्रोह’ को संज्ञा दिएका छन्। उनले भनेका छन्, “यो कुनै विरोध होइन, यो विद्रोह हो। डोनाल्ड ट्रम्प अघि बढेर टीभीमा जाउ र यो घेराबन्दी अन्त्य गर्न लगाउ। अति भयो।”

यसैबीच ट्रम्पले ट्विटरमा एक भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीलाई घर फर्कन आग्रह गरेका छन्। उनले भनेका छन्, “एउटा चुनाव भयो र त्यो हामीबाट चोरेर लगियो। त्यो भयंकर घटना थियो। यो कुरा दोस्रो पक्षलाई पनि थाहा छ। तर, अब हामीले शान्ति बनाउनुपर्छ। तपाईंहरुले घर जानुपर्छ। हामी कसैको क्षति होस् भन्ने चाहँदैनौँ।” यो ट्विटलाई ट्विटरले सेयर, लाइक र रिट्विट गर्न बन्देज गरेको छ। -हिमालखबरबाट