ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रूपमा बन्द

ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रूपमा बन्द

न्यूयोर्क : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लागेको छ। ट्रम्पका ट्वीटले ‘हिंसा भड्किने’ भन्दै ट्वीटरले ट्रम्पको अकाउन्टलाई स्थायी प्रतिबन्ध गरेको हो।

‘‘@realDonaldTrump’ बाट ट्वीट गरिएका ट्वीटरको सूक्ष्म रूपमा समीक्षा गर्दा तिनले हिंसालाई अझ भड्काउने देखिएकाले यस अकाउन्टमाथि हामीले स्थायी प्रतिबन्ध लगाएका छौँ’, ट्वीटरले भनेको छ ।

यसअघि पनि राष्ट्रपति ट्रम्पको अकाउन्टमाथि १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो। ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्विटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको थियो।

अमेरिकी संघीय संसद् (क्यापिटल हिल)मा बुधबार जो बाइडेनलाई राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गर्ने दिन थियो। गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए। तर, धाँधली भएको भन्दै हार अस्वीकार गर्दै आएका ट्रम्पको समर्थनमा बुधबार वासिङ्टनमा हजारौं भेला भएका थिए।

बाइडेन राष्ट्रपतिमा विजयी भएको घोषणाअघि आयोजित भेलालाई सम्बोधन गर्दै ट्रम्पले पुरानै कुरा गरे। उनले राष्ट्रपति निर्वाचनमा धाँधली भएको र त्यसलाई आफूले अस्वीकार गर्ने बताए। उनी त्यतिमै सीमित भएनन्। उनले भने, ‘जो बाइडेनको विजयको विरोध गर्ने सांसदलाई सहयोग गर्न संसद् भवन जानुस्।’

ट्रम्पको भाषणलगत्तै भीड संसद् भवनतर्फ मोडियोे। ट्रम्पको उक्साहटमा उनका समर्थक सुरक्षा घेरा तोड्दै जबरजस्त संसद् भवनमा प्रवेश गरे। त्यहाँ हिंसा मच्चियो। अमेरिकी समयअनुसार बुधबार दिउँसो ट्रम्प समर्थकको ठूलो भीड संसद् भवन प्रवेश गरेको थियो। उनीहरूले संसद्मा तोडफोड नै गरे।

प्रदर्शनकारी संसद् भवन पुग्दा बाइडेनको विजयीलाई प्रमाणीकरण गर्ने क्रम चलिरहेको थियो। ट्रम्पका समर्थक बाइडेनलाई राष्ट्रपतिमा विजयी भएको प्रमाणित गर्ने काम रोक्न चाहन्थे। ट्रम्पले आफ्ना समर्थकलाई चुनावी परिणाम उल्टाउन संसद् भवन प्रवेश गर्न उक्साएपछि हंगामा भएको जनाइएको छ। भीड सिनेट हलसम्मै पुगेको थियो।