चीनद्वारा नेपालसहितका देशसँग कोरोनालगायत विषयमा संयुक्त छलफल

चीनद्वारा नेपालसहितका देशसँग कोरोनालगायत विषयमा संयुक्त छलफल

काठमाडौं । चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ ।

यसबाहेक कोरोना महामारीका कारण अवरुद्ध भएको व्यापार र आर्थिक सम्बन्धको बारेमा पनि छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होउ थुनयिङले जनवरी ६ मा महानिर्देशक वर्किङ ग्रुपको बैठक भएको जानकारी दिइन् ।

तर, नेपालको परराष्ट्र मन्त्रालयले भने केही पनि जानकारी दिएको छैन् । त्यसैगरी नेपालको कुन निकायको महानिर्देशकले भाग लिए भन्ने पनि जानकारी दिइएको छैन ।

यस अगाडि जुलाई महिनामा विदेशमन्त्रीहरुको र नोभेम्बरमा उपविदेशमन्त्री स्तरीय बैठक भएको थियो । पछिल्लो बैठक अघिल्ला बैठकहरुको फलोअप बैठक भएको चीनले बताएको छ ।

सो बैठकका सम्बन्धमा चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘सो बैठकमा सहभागी प्रतिनिधिबीच महामारी नियन्त्रण, गरिवी निवारण, कोभिड–१९ को प्रभाव, आर्थिक र व्यापारिक सहकार्य शुरु गर्ने र गैर–पारम्परिक सुरक्षा लगायतका विषयमा कुराकानी भएको छ ।’

त्यसैगरी दीर्घकालीन एजेण्डालाई सुदृढीकरण गर्ने, गरिवी निवारण र विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा प्रारम्भिक सहमति भएको पनि चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ ।