कांग्रेस एकसाथ देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै

कांग्रेस एकसाथ देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको छ । आज हुने विरोध प्रदर्शनमा शीर्ष तहका नेताहरु सहभागी हुने बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को विरोध प्रदर्शनमा सहभागी हुने र विरोध प्रदर्शनपछि आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै कोषाध्यक्ष सीतादेवी यादव काभ्रेको प्रदर्शनमा हुनेछ ।

प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौंको प्रदर्शनीमार्गमा हुने विरोध सभामा सहभागी हुनेछन् भने नेता गगन थापा आफ्नै निर्वाचन क्षेत्रको कपनमा हुने विरोध सभालाई सम्वोधन गर्नेछन् । आज हुने विरोध सभामा सहभागी हुन र सभालाई सम्बोधन गर्नका लागि सबै नेताहरु प्रायः आ–आफ्नो जिल्लामा पुगिसकेका छन् ।


पुस १९ मा बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको बैठकलाई सारेर प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले तीन चरणको विरोधको कार्यक्रम घोषणा गरेको छ । यसअन्तर्गत पहिलो चरणको प्रदर्शन आज हो भने दोस्रो चरणमा प्रदेश निर्वाचनलाई थप विकेन्द्रित गर्दै माघ ३ गते देशैभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गरिने छ ।

तेस्रो चरणमा विरोधलाई थप व्यापक बनाउँदै ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गरिने छ ।