गौतमद्वारा नेकपा एकता राष्ट्रिय अभियान घोषणा

गौतमद्वारा नेकपा एकता राष्ट्रिय अभियान घोषणा

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियान घोषणा गर्नुभएको छ ।

एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीबाट दुई तिहाई नजिकको जनमत प्राप्त गरेको पार्टी विभाजन नजिक पुगेपछि गौतमले नयाँ अभियान सुरु गर्नुभएको हो । नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद र पीडादायी भएको गौतमको भनाइ छ ।

एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने कार्य राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था रहेको गौतमले बताउनुभएको छ । ‘पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले व्यहोर्नुपरेको छ,’ गौतमद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

गौतमले एक अर्कालाई दोष दिँदै, सामान्य मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै सरु भएको लडाईं बन्द गर्न अपिल गर्नुभएको छ ।