गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार निधन

गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार निधन

गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अल्जाइमर्सको समस्या थियो । रिमालको निधनको समाचार गायक दीप श्रेष्ठले साथीमार्फत थाहा पाए । अचानक त्यस्तो खबर सुन्नुपर्दा साह्रै बेस्वाद लागेको श्रेष्ठ बताउँछन् । 

गायक श्रेष्ठ दुई दिनअघि मात्र धरानबाट काठमाडौं आएका थिए । लगत्तै फेरि जाँदै छन् । तर, काठमाडौं आउनासाथ यस्तो खबर सुन्नुपर्दा आफूसँग बोल्ने कुनै शब्दै नभएको श्रेष्ठ बताउँछन् । रिमालले लेखेको दर्जनभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका श्रेष्ठ आफ्ना पुरानामा गीतहरू कम्पोज गर्दै थिए । रिमालले लेखेका गीतहरूको पुनः रेकर्ड पनि गरिरहेका थिए । श्रेष्ठ सुनाउँछन्, ‘तर, अचानक यस्तो खबर सुन्नुपर्दा साह्रै नमीठो लाग्यो । उहाँले लेख्नुभएका गीतहरू पुनः रेकर्ड गराएर सुनाउँछु भन्ने सोचेको थिएँ, त्यो रहर अधुरै रह्यो ।’

श्रेष्ठले रिमाललाई ३०–३५ वर्षअगाडि भेटेका थिए । श्रेष्ठ काठमाडौंमा डेरा गरी बस्थे । भोटेबहालमा थियो, उनको डेरा । सुरुवातमा रिमालले श्रेष्ठका साथीहरूमार्फत गीत पठाएका थिए । पछि सम्बन्ध झांगिँदै गएपछि आफ्नै डेरामा रिमाल आउने गरेको श्रेष्ठ सुनाउँछन् । भन्छन्, ‘साह्रै मृदुभाषी र सहयोगी हुनुहुन्थ्यो । मेरो डेरामा आएको वेला दुःख गरेर बसेको छ भनेर पाँच सय–हजार छाडेर जानुहुन्थ्यो ।’ श्रेष्ठलाई रिमालसँग जोड्ने काम भने गायिका कोइलीदेवीले गरेकी थिइन् । 

श्रेष्ठका गीतहरू रेडियो नेपालमा रेकर्ड हुन्थे । रेकर्ड भइसकेपछि लगेर रिमाललाई सुनाउँथे । गायक श्रेष्ठ अहिले पनि स्टेज कार्यक्रम गरिरहन्छन् । स्टेजमा जाँदा दर्शकबाट फर्माइस आइहाल्छ, ‘हुँ यात्री’, ‘झस्केछ मन मेरो’ । श्रेष्ठ सुनाउँछन्, ‘यी गीतहरूको फर्माइस आउनासाथ रिमाल दाइको सम्झना आइहाल्छ ।’

कवि, लेखक तथा चलचित्रकर्मी प्रकाश सायमीले पनि ०३५ सालमै भेटेका थिए, रिमाललाई रेडियो नेपालको गीत प्रतियोगितामा । सायमी रिमालको बहुचर्चित गीत ‘जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ, सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ..’ गीतको किस्सा सुनाउँछन् । सायमीका अनुसार ‘भने’ को ठाउँमा रिमालले ‘चाह’ लेखेका थिए । पछि गीत तयार भयो, नारायण गोपालले रिमाललाई सुनाए । रिमालले ‘भने’ नभएर ‘चाह’ लेखेको कुरा बताउँदा नारायणगोपालले ‘यत्तिले गीतको मर्म मर्दैन’ भनेपछि रिमाल कन्भिन्स भएको सुनाउँछन्, सायमी । 

लेखक सायमीका अनुसार रिमाल आफ्ना गीतहरू नारायणगोपालले गाओस् भन्ने चाहना राख्थे । तर, नारायणगोपाल भने आफूले संगीत भरेका गीत अरूलाई गाउन दिन्थे । विशेष गरेर फत्तेमानलाई । त्यसपछि अरुणा लामा, डेजी बराइलीहरूलाई । यसको कारण भन्छन् सायमी, ‘त्यसको कारण उहाँ सञ्चयकोषको कर्मचारी । उहाँ गीत गाउनेलाई खाममा हालेर पाँच सय, हजार दिनुहुन्थ्यो । रेडियो नेपालले तीन सय दिन्थ्यो । त्यो भएकाले पनि होला, नारायणगोपालले अरू कलाकारलाई आर्थिक फाइदा होस् भनेर त्यसो गरेका होलान् ।’

रिमाल साइकलको ह्यान्डिल कानमा पसेर काम कम सुन्थे । सायमीले लिएका अन्तर्वार्ता भोलिपल्टतिर सुनेर फोन गरेर प्रतिक्रिया दिने गरेको पनि सुनाउँथे । सायमी भन्छन्, ‘उहाँ इम्याजिनरी मान्छे हो । साहित्यिक अनुभूति भएको मान्छे हो । गहिरो कुरालाई मिहिन ढंगले केलाएर सरल भाषामा लेख्ने सर्जक हो ।’ आफ्नो अन्तिम भेट ०७४ सालमा स्वरसम्राट स्मृति पुरस्कारको वेला भएको र त्यसपछि बिरामी परेको वेला भएको बताउँछन्, सायमी । 

रिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । ३ माघ १९९२ मा जन्मिएका रिमालले एक दर्जन कवितासंग्रह र पाँच सयभन्दा धेरै गीत रचना गरेका छन् । रिमाल सुरुमा कविता लेख्थे । राष्ट्रिय भावका कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा वेदनाका गीत र भजन लेखनसम्म विस्तार भएको पाइन्छ । ००८ फागुनमा उनले लेखेको ‘राष्ट्रिय दिवस आज’ शीर्षकको पहिलो कविता गोरखापत्रमा प्रकाशित भएको थियो । ०११ सालमै उनको पहिलो कृति ‘भैचम्पा’ खण्डकाव्य प्रकाशित भयो । नारायणगोपालको स्वरमा बज्ने ‘जुन फूल मैले चाहेको थिएँ’ तथा अरुणा लामाको स्वरमा बज्ने ‘उदास मेरो जीवनकथा...’ गीतका सर्जक रिमालले जीवनका ७० वर्ष गीत र कविता लेखनमै बिताए । उनले लेखेकामध्ये अहिलेसम्म आठ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।