'छक्का पञ्जा ३’को यूट्युबमा नयाँँ रेकर्ड

'छक्का पञ्जा ३’को यूट्युबमा नयाँँ रेकर्ड

कोरोना महामारीयता यूट्युबमा सार्वजनिक भएका प्रायः नेपाली फिल्मले दर्शकको राम्रो साथ पाएका छन् । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ३’ ले यूट्युब रिलिजको १९ दिनमै एक करोड भ्यूज पाएको थियो । त्यस्तै, लकडाउनमा यूट्युब रिलिज भएका ‘साइँली, दाल भात तरकारी, जात्रै जात्रा, क्याप्टेन’ लगायतका फिल्मले पनि छोटो समयमै लाखौं भ्यूज बटुले ।

यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ ले यूट्युबमा रेकर्ड नै बनाएको छ । १७ दिनअघि यूट्युबमा सार्वजनिक भएको फिल्मलाई एक करोडभन्दा बढी पटक हेरिएको छ । यति छोटो समयमा यूट्युबमा करोड भ्यूज पाउने यो नै पहिलो फिल्म हो । यसअघि यो रेकर्ड झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को नाममा थियो ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईंलगायतको मुख्य भूमिका छ । नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथितिको कथा उठान गरेको फिल्मले बक्सअफिसमा आक्रामक कमाई गरेको थियो । फिल्मलाई यूट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । सिनेमा हलमा पनि फिल्म निकै रुचाइएको थियो ।