धनगढीको कैलाली अस्पतालद्धारा मुटुरोग विशेषज्ञ सेवा सञ्चालन

धनगढीको कैलाली अस्पतालद्धारा मुटुरोग विशेषज्ञ सेवा सञ्चालन

धनगढी: धनगढीको कैलाली अस्पतालले मुटुरोग विशेषज्ञ सेवा सुरु गरेको छ । यस क्षेत्रमा मुटुरोग सम्बन्धी समस्या भएका बिरामीहरुका लागि   नियमित सेवा दिने उद्देश्यले मुटुरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।  माघ महिनाको सुरुदेखि नै नियमित र दैनिक रुपमा कन्सल्टेन्ट मुटुरोग बिशेषज्ञ डाक्टर राजेश पंजियारले सेवा दिने अस्पतालले जनाएको छ । 

बि एण्ड सी मेडिकल कलेज झापाका मुटुरोग विभाग प्रमुख  पंजियारले मुटुरोगमा स्नातकोत्तर गरेका छन् ।  सुदूरपश्चिमका मुटुरोगीहरुले समयमै उपचार पाउन नसकेका वेला आफु आउन तयार भएको डाक्टर पंजियारले प्रतिक्रिया दिए ।

यसअघि अस्पतालले सुदूरपश्चिममै पहिलो पटक हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको थियो । अस्पतालले प्रविधि अनुसार अत्याधुनिक स्वास्थ्य सेवा दिदैं आएको छ । आउँदो एक महिनाभित्र एनआईसीयू र आईसीयू सेवा सञ्चालन गर्ने तयारीमा लागेको अस्पतालका निर्देशक हरि धामीले बताए ।

उनका अनुसार त्यसका लागि आवश्यक स्वास्थ्य उपकरणहरु पनि आईरहेका छन् ।  धनगढीको मुख्य सडकमा रहेको कैलाली अस्पताल अहिले झण्डै ८ करोडको लगानीमा निर्माण गरिएको आफ्नै नयाँ भवनबाट सेवा दिदैं आएको छ ।