जम्बो केन्द्रीय समिति बनाउने ओली समूहको तयारी

जम्बो केन्द्रीय समिति बनाउने ओली समूहको तयारी

काठमाडौँ । विभाजत नेकपाको केपी ओली समूहले पार्टीको केन्द्रीय समिति जम्बो बनाएको छ । पार्टीको विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाइएको हो ।

विभाजनअघि केन्द्रीय समितिमा अल्पमतमा रहेको ओली समूहले गत पुस ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

ओलीले एकैदिन ५ सय ९६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका थिए । अहिले सो संख्यालाई पनि बढाएर १५ सय १ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको छ । यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा यो व्यवस्था भएको उल्लेख छ ।

उक्त अपानिमा भनिएको छ, ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १५०१ सदस्यीय भएको छ, रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको छ ।’

अपानिमा अध्यक्ष ओलीले भनेका छन्, ‘कमिटीका अध्यक्ष यस अभियानको पक्षधर नभएको ठाउँमा सचिव भए उहाँको अगुवाइमा, अन्यथा पार्टीका ज्येष्ठ या वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पार्टी कामलाई गतिशील बनाउने । एक तहमाथिको कमिटी वा संयोजक कमरेडको निर्देशनमा भावी नेतृत्वका बारेमा आवश्यक निर्णय लिने ।’