जर्मनी र ब्राजिलका समर्थक पहिलाे दिन नै दुःखी

जर्मनी र ब्राजिलका समर्थक पहिलाे दिन नै दुःखी

पहिलाे दिनदेखि नै अाश्चर्यजनक नतिजा अाइरहेकाे जारी विश्वकपकाे चाैथाे दिन थप राेमाञ्चक र अाश्चर्यजनक बन्याे ।

गत संस्करणको विश्वकप विजेता जर्मनी पहिलाे खेलमै मेक्सिकोसँग पराजित भयाे भने रसिया विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरीमा रोकियाे ।

प्रतियोगिताको उत्कृष्ट टोलीमध्येमा हेरिएको ब्राजिलले सन् १९७८ यता पहिलो पटकको विश्वकपको आफ्नो सुरुअाती खेल जित्न सकेन । पाँच पटकको विश्व कप विजेता ब्राजिलबाट समर्थक र दर्शकहरूले याे अपेक्षा गरेका थिएनन् ।

विशेष गरी नेयमारकाे खेलमा धार देखिएन । समग्र टिममा तालमेलकाे अभाव स्पष्ट देखिन्थ्याे । १-१ गोलको महत्त्वपूर्ण बराबरीसँगै स्विट्जरल्यान्डले एक अंक हासिल गरेकाे छ । ब्राजिलले पनि एक अंक पाएकाे छ तर, उ दबाबमा परेकाे छ ।

समूह ‘इ’ मै रहेकाे सर्वियाले काेष्टारिकालार्इ पराजित गरी स्पष्ट ३ अंक हासिल गरेर तालिकामा शीर्ष स्थानमा कब्जा जमाएकाे छ । यसकारण पनि ब्राजिल दबाबमा छ ।

यता, डिफेन्डिङ च्याम्पियन जर्मनी अनपेक्षित नतिजाकाे शिकार भएकाे छ । पहिलाे खेल गुमाएपछि जर्मनीले अंक जाेड्न सकेन ।

जर्मनीसँग स्पष्ट जितसहित मेक्सिकाे ३ अंक जाेड्न सफल भयाे । अब स्विडेन र दक्षिण काेरियाबीच हुने खेलकाे परिणामले जर्मनीकाे विश्वकप यात्रा तय गर्नेछ ।

सन् २०१० काे विश्वविजेता स्पेनले सन् २०१४ मा भाेगेकाे नियति जर्मनीले नभाेग्ला भन्न सकिँदैन । तत्कालीन डिफेन्डिङ च्याम्पियन स्पेनले समूह चरणका तीनमध्ये दुर्इ खेल गुमाउँदै प्रतियाेगिताबाट बाहिरिनु परेकाे थियाे ।