संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्ना बझाङमाः सुरक्षा व्यवस्था कडा

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्ना बझाङमाः सुरक्षा व्यवस्था कडा

बझाङ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना बझाङ आईपुगेका छन । जिल्ला सदरमुकाम चैनपुरमा नेकपा बझाङको आयोजनामा आयोजित बृहत आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना बझाङ पुगेका हुन । नेकपा विभाजनको चरणमा पुग्न थाले पनि नेकपाको (ओली समूह)ले बझाङमा शक्ति प्रदर्शन सहित आमसभा गर्न लागेको हो ।

आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ताहरु सदरमुकाम आइरहेका छन् । मन्त्रीकोे आगमनलाई लक्षित गरेर जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला सदरमुकाम लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

नेकपा (प्रचण्ड–नेपाल समूह) का कार्यकर्ताले विरोध र कालोझन्डा देखाउन सक्ने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको हो । मन्त्री ठगुन्ना बझाङ पुग्नुअघि माधव प्रचण्ड समूहका कार्यकर्ताले प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका छन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला शान्ती व्यवस्थामा खलल पुग्ने र दुई समुह विच झडपको स्थिति सिर्जना हुने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

बझाङमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव प्रचण्ड समुहले गुटगत कार्यक्रम गर्दै आएका छन । माधव प्रचण्ड समुहले मन्त्री ठगुन्नालाई कालो झण्डा देखाउने कार्यक्रम गरे पछि दुबै पक्षका कार्यकर्ता विच झडपको स्थिति आउने सक्ने भन्दै सर्तकता अपनाउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । प्रधानमन्त्री ओलीको संसद् विघटनको विरोधमा माधव प्रचण्ड समूह आन्दोलनमा छ ।

सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहले शक्ति प्रदर्शन गर्न लागेको हो । बझाङमा पनि पुर्व वनमन्त्री भानुभक्त जोशी सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा, जिल्ला अध्यक्ष मीन बहादुर थापा लगाएतको समुह माधव प्रचण्ड समुहमा देखिएका छन । बझाङमा कमजोर ठानीएको ओली समुहले शक्ति प्रदर्शन गर्न लागेको हो ।