तराईमा बिहानपख बाक्लो हुस्सु लाग्ने क्रम कहिले सम्म रहने

तराईमा बिहानपख बाक्लो हुस्सु लाग्ने क्रम कहिले सम्म रहने

 तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा अस्ति सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउँदो शुक्रबारसम्म कायम रहने मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो र अस्ति तराईका विभिन्न ठाउँमा यस वर्षकै बाक्लो हुस्सु लागेको हो । आज पनि धेरै ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउनेलाई समस्या भएको छ । चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ । हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन् ।

यसैबीच काठमाण्डौमा पनि अस्ति सोमबारदेखि आकाश धुम्म हुन थालेको छ । अघिल्लो हप्ता बदली भएर खुलेको आकाश फेरि धुम्म भएको हो । आकाश खुलेपछि काठमाण्डौमा दिउँसो गर्मी अनुभव हुन थालेको थियो । तर अस्तिदेखि दिउँसो चिसो हुन थालेको छ । अस्ति काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा हिजो घटेर १८ दशमलव ६ डिग्री सेल्सियस कायम भएको थियो । आज पनि काठमाण्डौको तापक्रम यही हाराहारीमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौमा बाक्लो हुस्सु नलागे पनि बिहानपख कुहिरो र दिउँसो तुवाँलो लाग्ने गरेको छ । काठमाण्डौको मौसमले हवाइ उडानमा असर नगरे पनि तराईमा दिउँसोसम्म बाक्लो हुस्सु लाग्ने गरेका कारण कतिपय उडान रद्द र कतिपय ढिलो हुने गरेका छन् । आज पहाडी भेगमा आंशिक बदली रहने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी ठाउँहरुमा मौसम सफा रहने छ ।