भारतीय पत्रकार सुधीर चौधरीको अर्को दुस्साहस: गर्छन्, 'माउन्ट एभरेस्टमाथि भारतको दाबी हुनुपर्ने कुरा'

भारतीय पत्रकार सुधीर चौधरीको अर्को दुस्साहस: गर्छन्, 'माउन्ट एभरेस्टमाथि भारतको दाबी हुनुपर्ने कुरा'

काठमाडौँ। नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्ने दिन नजिकिँदैछ । उनी माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

नयाँ दिल्लीमा भएको छैटौ संयुक्त आयोगमा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुने मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

दिल्लीमा भ्रमणका दौरान ज्ञवालीले भारतका उच्च तहका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्नेछन् । मन्त्री ज्ञवालीको भारत भ्रमणको संघारमा प्रधानमन्त्री केपी ओलीका पाहुना बनेर नेपाल आएका एक भारतीय पत्रकारले सगरमाथाको नाम फेर्नुपर्ने र यसमाथि भारतले दावी ठोक्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई पाहुनाको रुपमा यसै साता बालुवाटारमा स्वागत गरेका थिए । भारतीय संस्थापनद्वारा संरक्षित भारतीय सञ्चार माध्यम जी न्युजले लामो समयदेखि सगरमाथाको नाम फेर्नुपर्ने अभियान चलाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीका पाहुनाले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दावी प्रस्तुत गर्दै आएका छन् । यसैको पछिल्लो कडीको रुपमा बालुवाटारबाट बिदा भएर सगरमाथा क्षेत्रमा पुगेका उक्त समूहले सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको हो ।

जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथालाई पृष्ठभूमिमा राखेका भनेका छन्, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’