युट्युबद्वारा ट्रम्पको च्यानल एक साताका लागि निलम्बन

युट्युबद्वारा ट्रम्पको च्यानल एक साताका लागि निलम्बन

गूगलको स्वामित्वमा रहेको युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीतिविपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ । कम्तीमा अब एक साता ट्रम्पले युट्युबबाट लाइभ गर्न र नयाँ भिडियो पोस्ट गर्न पाउने छैनन् ।

गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् । अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेनविरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।

युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, 'हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।'

ट्विटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार सब्सक्राइबर रहेका छन् ।