सगरमाथालाई लिएर जी न्यूजको ‘टोन’ परिवर्तन, तर दाबी उस्तै

सगरमाथालाई लिएर जी न्यूजको ‘टोन’ परिवर्तन, तर दाबी उस्तै

काठमाडौँ । सगरमाथाको नाम परिवर्तन गर्ने तथा त्यसमा भारतको दाबी ‘ठोक्नु पर्ने’ बताएको भारतको निजी समाचार च्यानल जी न्यूजले आफ्नो अभियान जारी रहेको बताएको छ ।

तर नेपालमा विरोध भएपछि सो अभियानको घोषणा गरेका जी न्यूजका सम्पादक सुधिर चौधरीको ‘टोन’ मा भने परिवर्तन आएको छ ।

बुधबार राति प्रशारित डिएनए कार्यक्रममा उनले नाम परिवर्तन गर्ने अभियानमा आफूहरु रहेको र त्यो आफ्ना गणितज्ञ राधानाथ सिक्दरलाई न्याय दिलाउनका लागि रहेको दाबी गरेका छन् ।

उनले भारत अंग्रेजबाट स्वतन्त्र भए पनि अझै पनि सगरमाथा अंग्रेजको ‘गुलाम’ रहेको भन्दै आफूहरुले त्यही गुलामीको विरोध गरेको उनले दाबी गरेका छन् ।

सगरमाथा क्षेत्रमा जाँदाको भिडियो फुटेजमा माउन्ट एभ्रेस्टमा भारतको दाबी रहनु पर्ने बताएका चौधरीले बुधबार स्टूडियोबाट बोल्दा हिमालमा नभई त्यसको नाममा आफ्नो दाबी रहेको उल्लेख गरेका छन् ।

भारतीय गणितिज्ञ राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनकै नाममा सगरमाथाको नामाकरण हुनु पर्ने चौधरीले दाबी गरेका हुन् । अंग्रेजले भारतीयबाट उनीहरुको अधिकार खोसेकाले त्यही अभियान चलाएको चौधरीले दाबी गरेका छन् । सर जर्ज एभ्रेस्टको नाममा सगरमाथाको नामाकरण गरिएको हो । त्यसबाट राधानाथ सिक्दरमाथि अन्याय भएको र माउन्ट एभ्रेस्ट गुलाम भएकोले दाबी उनले गरेका छन् ।

‘माउन्ट एभ्रेस्ट माउन्ट सिक्दर बन्दा हिमाल भारतको हुन्छ भन्ने होइन । हिमाल त्यहिँ रहने छ । तर इतिहासमा भएको गल्ती सुधार हुन्छ ।’ चौधरीले भनेका छन्, ‘नेपाल–भारत राम–लक्ष्मण जस्तै हुन् । हामी नेपालीलाई चिढ्याउन चाहँदैनौँ । तर राधानाथ सिक्दरलाई न्याय दिलाउन चाहन्छौँ ।’