कञ्चनपुर । कञ्चनपुरको सीमावर्ती क्षेत्रका किसानलाई खेतमा काटेको उखु भित्र्याउन भारतीय पक्षबाट अवरोध भइरहेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका नेपाली किसानलाई आफ्नै खेतमा काटेको उखु भित्राउन दशगजाको सडक प्रयोगमा रोक लगाएको छ ।
बषौँदेखि नेपालको सडकघाट र भारतको पिल्ला नम्बर ३५ का किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक एसएसबीले नेपाली किसानका लागि रोक लगाएको हो ।
भारतीय किसानलाई भने निर्वाध रुपमा उपभोग गर्न दिएर नेपाली किसानलाई प्रयोग गर्न नदिएको सीमावर्ती सडकघाटका नेपाली किसानले बताएका छन ।
अन्तराष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका संयोजक पल्लब राज भट्टले जनताको समस्या बुझ्दै सरकारले भारतीय पक्षसँग वार्ता गरेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय पक्षले बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा पटक पटक हस्तक्षेप गर्दै आएको बताउनुभयो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले कानुन अनुरुप दशगजा क्षेत्रको सडक दुवै देशले उपभोग गर्न नपाउने बताउदै व्यवहारिक रुपमा दुवै देशका नागरिकले विगतदेखि प्रयोग गर्दै आएकाले दशगजा क्षेत्रको सडक प्रयोगको विषयमा विवाद आएको बताउनु भएको छ ।
प्रजिअ महतोले सो क्षेत्रमा भारतबाट अवैध रुपमा उखु तस्करीको भइरहेको जनगुनासो समेत आइरहेकाले त्यसतर्फ समेत ध्यान दिँदै सीमा क्षेत्रमा गैर कानुनी काम गर्न कसैलाई छुट नभएको बताउनुभयो ।