इन्टरनेट बन्द गरेर भएको चुनावबाट छैठौं कार्यकालका लागि युगान्डाको राष्ट्रपति चुनिए मुसेभेनी

इन्टरनेट बन्द गरेर भएको चुनावबाट छैठौं कार्यकालका लागि युगान्डाको राष्ट्रपति चुनिए मुसेभेनी

युगान्डामा योयेरी मुसेभेनी छैठौं कार्यकालका लागि राष्ट्रपति चुनिएका छन्। 

शनिबार त्यहाँको निर्वाचन आयोगले बिहीबारको मतदानमा मुसेभेनीले ५८.६ प्रतिशत मत ल्याएको जनाएको छ।

७६ वर्षीय मुसेभेनी सन् १९८६ देखि सत्तामा छन्। उनी अहिले अफ्रिकामा सबैभन्दा बढी समय शासन गर्ने व्यक्ति हुन्।

उनका प्रतिष्पर्धी ३८ वर्षीय बोबी वाइनले ३४.८ प्रतिशत मत पाएका छन्। वाइनले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्न आह्वान गरेका छन्।

संयुक्त राज्य अमेरिका र अफ्रिकन चुनावी पर्यवेक्षण समूहले पनि चुनावी परिणाममा शंका व्यक्त गरेका छन्।

बेलायतले मतदान हुनुभन्दा अघिल्लो दिनदेखि देशव्यापी रूपमा इन्टरनेट बन्द गरिएको घटनामा चासो व्यक्त गरेको छ।

अफ्रिकाका लागि बेलायती मन्त्री जेम्स डड्ड्रिजले चुनावी प्रक्रिया कसरी सम्पन भएको थियो भन्ने छानबिन गर्नुपर्ने बताएका छन्।

प्रतिष्पर्धी उम्मेदवार वाइनको घरअगाडि अहिले पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

समाचार संस्था रोयटर्सलाई टेलिफोनमा प्रतिक्रिया दिँदै वाइनले  सेना र प्रहरीको बलमा राष्ट्रपति मुसेभेनीले चुनाव आफ्नो पक्षमा पारेको बताएका छन्।

मुसेभेनी शासनको भ्रष्टाचारलाई आफ्नो चुनावी अभियानको एजेन्डा बनाएका वाइनले अहिलेको चुनावी परिणामले प्रजातन्त्रलाई गिज्याएको बताए।

लामो अनुभवले आफूलाई देशको राम्रो नेता बनाएको दाबी गर्ने राष्ट्रपति मुसेभेनीले चुनावको दुई दिनअघि सबै सामाजिक सञ्जाल बन्द गरेका थिए भने मतदानको अघिल्लो दिन देशैभरिको इन्टरनेट बन्द गरेका थिए। अहिले पनि युगान्डामा इन्टरनेट सुचारू नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।