धनगढीमा नव विवाहित दम्पतीद्धारा न्यानो लुगा र खाद्यान्न सहयोग

धनगढीमा नव विवाहित दम्पतीद्धारा न्यानो लुगा र खाद्यान्न सहयोग

धनगढी । धनगढीमा नव विवाहित दम्पतीले न्यानो कपडा  तथा खाद्यान्न वितरण गरेका छन् । धनगढी–४ निवासी रुपेश खड्काले अनाथ तथा सडकबाट उद्धार गरिएका बेसहारा महिलालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका हुन् ।

बाबा टेलिभिजन तथा केबुलका सञ्चालक समेत रहेका कैलाली उद्योग वाणिज्य सङ्घका सदस्य खड्का र उनकी श्रीमती यमुना कठयताले आइतबार बिहान सामाग्री सहयोग गरेका हुन् । बिहीबार वैवाहिक बन्धनमा बाँधिएका खड्का दम्पतीले धनगढी–५ मा रहेको आमाको माया छात्रावासमा रहेका बालबालिकालाई १२ थान ब्लाङ्केट हस्तान्तरण गरेका छन् ।

छात्रबासमा अहिले २७ जना बालकहरू बस्दै आएका छन् ।  चिसो र शितलहरका समयमा न्याना कपडाले बालकहरूलाई राहत मिल्ने विश्वास उनको छ । यस्तै धनगढी–७ मा रहेको दृष्टि फाउण्डेशनलाई ५ बोरा चामल,  १० केजी दाल, एक कार्टुन तेल र १२ केजी नुन सहयोग गरेका हुन् । फाउन्डेसनले सडकमा आउन बाध्य भएका, मानसिक समस्यामा परेका र असहाय महिलाहरूको उद्धार, उपचार, परामर्श र स्याहार गर्ने गरेको छ ।

फाउण्डशनकी सञ्चालिका कल्पना भट्टले खाद्यान्न प्राप्त गरेपछि नवसववाहित दम्पतीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।फाउन्डेसनमा अहिले ३९ जना महिला छन् ।