बार्सिलोनामा मेस्सीलाई पहिलो रातो कार्ड

बार्सिलोनामा मेस्सीलाई पहिलो रातो कार्ड

काठमाडौं। लियोनल मेस्सीले बार्सिलोना करियरमा पहिलो पटक रातो कार्डको सामना गरेका छन्। कप्तान मेस्सी रातो कार्ड खाएर मैदान छाडेको खेलमा बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक विल्बाओसँग ३–२ ले पराजित भएको छ। 

मेस्सीले बार्सिलोनाबाट ७५३औं खेल खेलिरहेका थिए। निर्धारित समय २–२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अन्तिम समयमा मेस्सीले रातोे कार्डको सामना गरेका थिए। 

१२०औं मिनेटमा मेस्सीले एथलेतिक विल्बाओका एशियर भिल्लाब्रेलाई फउल गरेका थिए। रेफ्रीले तत्काल देखेनन्। तर भिडियो सहायक रेफ्रीको सहायतामा रेफ्री जेसस गिलले मेस्सीलाई रातो कार्डको दर्शन गराएका थिए। 

३३ वर्षे मेस्सीले यसअघि दुई पटकमात्र रातो कार्डको सामना गरेका छन्। दुबै पटक उनले अर्जेन्टिनाबाट खेल्दा रातो कार्डको सामना गरेका थिए। 

२००५ मा हंगेरीविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्दा पहिलो पटक रातो कार्डको सामना गरेका मेसीले २०१९ को कोपा अमेरिकामा चिलीविरुद्ध तेस्रो स्थानको लागि खेल्दा दोस्रो पटक रातो कार्डको सामना गरेका थिए। 

उनलाई अब कम्तिमा चार खेल प्रतिबन्ध लाग्न सक्छ। सुपर कपको प्रतिबन्ध लिग र कपमा लाग्नेछ। 

बार्सिलोना जितबाट केही सेकेन्डले मात्र टाढा थियो। तर बार्सिलोनाको उपाधि यात्रामा एथलेटिक विल्बाओका बैकल्पिक खेलाडी भिल्लाब्रे तगारो बने। 

बार्सिलोनाले ४०औं मिनेटमा एन्टोइन ग्रिजम्यानको गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेट नबित्दै ओस्कार डी मार्कोसले बराबरी फर्काए। ७७औं मिनेटमा ग्रिजम्यानले गरेको गोलबाट बार्सिलोनाले पुनः अग्रता लियो। 

ग्रिजम्यानको गोलसँगै बार्सिलोना १४औं सुपर कप उपाधिको नजिक पुगेको थियो। प्रशिक्षक रोनाल्ड कोम्यान पहिलो उपाधि नजिक थिए। मेस्सी आठौं पटक सुपर कपको उपाधि नजिक थिए। तर समय सकिन केही सेकेण्ड बाँकी हुँदा भिल्लाब्रेले भलीमा गोल गरेपछि खेल थप समयमा धकेलियो। 

३० मिनेट थप गरिएको समयको चौथो मिनेटमै इनाकी विलियम्सले गरेको गोल एथ्लेटिक विल्बाओको जितमा निर्णायक बन्यो। 

एथलेटिक विल्बाओले सेमिफाइनलमा रियल मड्रिडलाई २–१ ले पराजित गरेको थियो। एथ्लेटिकले रियल मड्रिड र बार्सिलोनालाई लगातार पराजित गरेको १९६० पछि यो पहिलो पटक हो।