नेपालमा ‘फाइभ–जी’ को तयारी सुरु

नेपालमा ‘फाइभ–जी’ को तयारी सुरु

काठमाण्डाै ।  नेपालमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् फाइभ-जी सञ्चालनको लागि बहससँगै सामान्य तयारी सुरु भएको छ । 

अत्यन्तै उच्च गतिको इन्टरनेटको सहायताले मानव उपस्थितिबिनानै कयौँ काम गर्न सकिने गरी विकास भएको फाइभ-जी नेपालमा पनि ल्याउनुपर्छ भन्ने माग उठ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो विषयमा प्रारम्भिक तयारी गरिरहेको छ । 

फाइभ-जी फ्रिक्वेन्सी पहिचानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम बनाएर फ्रिक्वेन्सीको सिफारिस पनि गरिसकेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य सीमणि चौलागाईंको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधिविज्ञ आनन्दराज खनाल, सञ्चार उपसचिव अनुप नेपाल, प्राधिकरणका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलसहित नेपाल टेलिकम र एनसेलका प्रतिनिधिसहितको फोरमले फाइभ-जी फ्रिक्वेन्सी सिफारिस गरेको हो । 

न्यून ब्यान्ड अन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मध्यम ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र उच्च ब्यान्डको २६ गिगाहर्ज ब्यान्डलाई फाइभ-जी प्रविधिमा सञ्चालन गर्न सकिने सिफारिस फोरमले गरेको छ ।

फोरमले गरेको फ्रिक्वेन्सी सिफारिस अध्ययन गरेर दूरसञ्चार प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति समक्ष सुझावका रूपमा पेस गर्नेछ । समितिले आवश्यक अध्ययन गरेर निर्णय गर्नेछ । समितिमा सञ्चारमन्त्रीसहित विभिन्न ४ वटा मन्त्रालयका सचिव, दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका व्यक्ति रहेका हुन्छन् । 

‘फ्रिक्वेन्सीको निर्धारण गर्ने, दर रेट तोक्ने, पूर्वाधार निर्माणलगायतका विषयमा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नै निर्णय गर्छ, अहिलेलाई प्रारम्भिक रुपमा प्राधिकरणले सिफारिस गर्ने हो’, दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो ।

प्राधिकरणले थप अध्ययन गर्दै

फाइभ-जी को विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले विस्तृत अध्ययन गरिरहेको छ । दूरसञ्चार प्राधिकरणको फ्रिक्वेन्सी शाखाबाट यस विषयमा विस्तृतमा अध्ययन भइरहेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी जानकारी दिनुभयो । 

‘हामीले यो विषयमा विस्तृत अध्ययन गर्दैछौँ, विज्ञहरुको पनि राय सुझाव लिनेछौँ, दूरसञ्चार क्षेत्रको नियामक निकाय भएकाले हाम्रो क्षेत्रधिकारले भ्याउनेसम्मको अध्ययन गरेर फाइभ-जी को बारेमा एउटा ठोस निष्कर्ष निकाल्नेछौँ’, प्रवक्ता अर्यालले भन्नुभयो । 

फाइभ-जीकै विषयमा परामर्शदाता छनोटको प्रक्रिया पनि चलिरहेको छ । प्राधिकरणले परामर्शदाताको लागि प्रस्ताव मागिसकेको छ । परामर्शदाताको प्रस्ताव अहिले मूल्याङ्कनको चरणमा रहेको पनि अर्यालले बताउनुभयो ।

‘परामर्शदाताले फाइभ-जीको बारेमा रोडम्याप दिनेछ । त्यसका आधारमा पनि थप सिफारिस र निर्णय गर्न सजिलो हुनेछ’, अर्यालले भन्नुभयो ।   -यो खबर अर्जुन पोख्रेल ले उज्यालो अनलाईनमा लेखेका छन् ।