खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ।
कसैको केन्द्रमा पद कसैको केन्द्रमा धन छ।

मञ्च पाउँदा गालाको नसा रातो गरि बोल्छौ,
थाहा छैन र आफ्नो बोलीमा कति वजन छ।

लुटेरा र दलाल मात्र भेट्टिन्छन के गर्नु देशमा,
भ्रष्टाचारले जेलेको सारा सहर जङ्गल वन छ।

कसरी सक्छ यत्तिको बद्लिन मान्छेहरू खै,
कतैतिर धारेहात लाउने कतै जारी भजन छ।

धेरै कुरा नगरे बेस मेरो सामुन्ने अरु नै सम्झेर,  
मलाई थाहा छ तिम्रो उद्देश्य कति कञ्चन छ।

तपाईं स्वाभिमानको कुरा गर्नु हुन्छ महोदय, 
देशमा मूल्य पाए मलाई स्वयं बेचिन मन छ।


२०७७/१०/५ महेन्द्रनगर