आज पनि तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

आज पनि तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको जनाएको छ । महाशाखाले उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको जनाएको हो ।

देशका अधिकांश क्षेत्रमा मंगलबारको मौसममा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

आज राति पनि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका मंगलबार राति एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।   यस्तै तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन्।

देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेको छ । यसैबीच, महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ ।