एकीकृत शहरी विकास योजना बन्दै

एकीकृत शहरी विकास योजना बन्दै

बैतडी : बैतडीका ३ नगरपालिका एकीकृत शहरी विकास योजना बन्ने भएको छ । सरकारले देशभरका १८५ नगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गर्ने लक्ष्य राखेकामा बैतडीका तीन नगरपालिकाको योजना निर्माण हुने भएको हो । 

दशरथचन्द, मेलौली र पुरचौडी नगरपालिकाको एकीकृत शहरी विकास योजना अघि बढाउनका लागि प्रारम्भिक काम शुरु भएका छन् । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा नगरपालिकाको एकीकृत शहरी विकास योजना बनाउन लागिएको हो । 

नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक, सुशासन, वातावरण, कृषि, पर्यटनलगायत नौ क्षेत्रको अध्ययन गरेर एकीकृत विकास योजना बनाइने ग्रिड गोसे÷राजदेवी इञ्जिनीयर जेभीका भूगोलविद् विष्णु अधिकारीले बताए ।

आफूहरुले दशरथचन्द नगरपालिका र पुरचौडी नगरपालिकाको योजना बनाउने जिम्मा पाएको छ । दुबै नगरपालिकामा प्रारम्भिक अवलोकन, तथ्यङ्क सङ्कलन र नक्साङ्कनको काम भइरहेको जनाएको छ । 

नगरपालिकालाई आगामी पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने विषयमा योजना केन्द्रित हुनेछ ।  नगरपालिकाको समग्र विकासका लागि प्रत्येक नगरपालिका रु ३० करोड बढीका दुई योजनाको डिपीआर समेत निर्माण गरिने वातावरणविद् कुमोद लेखकले बताए ।

मेलौली नगरपालिकामा एकीकृत शहरी विकास योजना निर्माणका लागि परामर्शदाताको टोलीले प्रारम्भिक छलफल गरेको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी  दिए ।