भीम रावललाई किन घेर्न चाहन्छन् ओली ?

'नानाभन्दा नानी ठुलो, मान्छेभन्दा कुरा ठुलो'

अर्जुन शाह    

भीम रावललाई किन घेर्न चाहन्छन् ओली ?

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी धारको नेतृत्व गरिरहेका भीम रावलप्रति कति आक्रोसित हुनुहुन्छ भन्ने कुराको अतिसंक्षिप्त चर्चा सुरुमै गरौं । ‘अछामको एउटा केटो म जेलमा बस्या बेला, बाटामा हिड्दाहिड्दै पुलिसले समातेर ल्याएछ र भेट्टाएर मैले राजनीतिकरण गर्या । अहिले त कुराकानी सानातिना छैनन् । मान्छेभन्दा कुरा ठूला छन् । नानाभन्दा नानी ठुलो, मान्छेभन्दा कुरा ठुलो ।’ 

प्रधानमन्त्रीले रावललाई ‘केटो बढ्ता कुरा गर्छ’ मात्रै भन्नु भएन । धनगढीमा सभाको आयोजना गरेर प्रधानमन्त्रीले रावललाई बन मास्न लागेको संगीन आरोपसमेत लगाउन भ्याउनु भयो । त्यति मात्रै हैन, प्रधानमन्त्रीले धनगढीमै अर्को टिप्पणी पनि गर्नु भयो उहाँले । ओलीले प्रदेश विकासको बाधक भीम रावल हुन् भन्ने आरोप पनि लगाउनु भयो । उहाँले भन्नु भयो, ‘त्यस्तालाई गाउँमै ठेगान लगाउँनु पर्छ, माथि आएपछि हैरान पार्छन् ।’ 

त्यतिमात्रै हैन, एकजना बहालबाला मन्त्री त रावललाई उफ्रिउफ्रि ‘पागल’ भनिरहेका छन् । ती मन्त्री आफ्नो दिमाग र मुखमा आएजति रावललाई मनगढन्ते शब्दमा निकृष्ट गालीगलौज गरिरहेका छन् ।  

प्रधानमन्त्री ओलीले ०७७ पौष २४ गते धनगढीमा आयोजित आफू निकट कार्यकर्ताद्धारा आयोजित सभालाई सम्बोधन गर्दै भीम रावलप्रति उहाँको नाम नलिइकनै कटाक्ष गरेको सुन्ने बित्तिकै मनमनै अनेकौं प्रश्नहरु उब्जिएका थिए । हुन त रावल आफैले पनि प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्तिको तथ्यगत र शालिन शब्दमा यसअघि नै खण्डन गरिसक्नु भएको छ । तथापी धेरै दिनदेखि सारै अपाच्य भएका केही कुरा मनभित्र गुम्साएर बस्न सकिएन । केही शब्द लेखेँ । 

हुन त कतिपय नेताहरु आफैले आफैलाई जनताको नजरबाट एकपछि अर्कोगर्दै स्खलित गराउनेक्रम दिन दोगुना रात चौगुना आफै बढाई रहेका छन् । त्यस्ता नेताहरुको अवसरवादी प्रवृतिलाई नेपाली जनहरुले पचाइसकेकाले खासै अनौठो पनि मान्दैनन् । त्यसैले कतिपय टिप्पणीहरु त सामान्य लाग्ने हुन्छन् । तर सबै टिप्पणीहरु सामान्य र स्वभाविक लाग्ने खालका नहुँदा रहेछन् । 

प्रधानमन्त्री ओलीको टिप्पणीपछि मेरो मनमा उब्जिएको पहिलो प्रश्न हो–रावलभन्दा ओली कति बर्ष जेठा होलान् ? मैले सोधखोज गरि हेरेँ । ओलीको जन्म २००८ साल फागुन ११ गते भएको रहेछ । भने, भीम रावलको जन्म १४ डिसेम्बर १९५६ अर्थात २०१३ मंसिर २९ गते भएको रहेछ । अर्थात, प्रधानमन्त्री ओली रावलभन्दा ४ बर्ष ९ महिना केही दिन उमेरले जेठो हुनु हुँदो रहेछ । 

सामान्यतः गुरु शिष्यबीचको उमेरमा लामै फरक रहने गरेको पाउँछौं हामी । महाभारतमा पात्रहरु (गुरु–शिष्य) दोर्णाचार्य र अर्जुनको कुरा छाडौं, अहिलेकै नेपाली राजनीतिका मुल पात्रहरुकै उमेरलाई दाँजेर हेर्दा पनि लगभग त्यही अवस्था पाउँछौ हामी । पछिल्लो राजनीतिक खेलका मुख्य खेलाडीहरु पुष्पकमल दाहाल प्रचण्डले आफ्ना राजनीतिक गुरु मोहन बैद्य किरणलाई मान्ने गरेको प्रचण्ड आफैले सार्वजनिक गरेको विगत छ । प्रचण्ड बैद्यभन्दा ८ बर्ष कान्छा हुन् । 

हुन त उमेरको भेद मात्रै गुरु–शिष्यबीचको सेतु हुन्छ भन्ने तर्क पनि हैन मेरो । शिक्षा, ज्ञान, विवेक, अनुभव र योगदानले पनि उमेरमा जुनियर पात्र पनि गुरु मानिने हुन्छन् । तर, यहाँ मैले कोट्याउन खोजेको प्रसंग भने जसरी वा जुन भावमा प्रधानमन्त्री ओलीले भीम रावललाई सडकमा भेटिएको केटोलाई मैले राजनीतिककरण गरे भन्नु भा’छ, त्यसभित्रको सत्यता, स्वभाविकता वा होच्याउनुका पछाडिको कारणबारे थोरै केलाउने प्रयास मात्र गरेको हुँ । 

किन कि मैले माथि नै भनेँ, प्रधानमन्त्रीले जुन भावमा त्यो टिप्पणी गर्नु भयो, त्यो स्वभाविक थिएन । प्रस्तुति झनै निर्मम र तुच्छ शैलीमा थियो । मैले मात्रै हैन, सुन्नेहरु धेरैले प्रधानमन्त्रीको उक्त आवाजलाई निको मानेनन्, स्वभाविक मानेका छैनन् । अधिकांशले त्यसलाई ओलीज्यूमा रहेको अहंकारको पराकाष्टा, अर्काको आत्मसम्मानमा प्रहार गर्ने गएगुज्रेको टिप्पणी बाहेक केही होइन भन्ने प्रतिक्रिया ब्यक्त गरेका छन् । 

पछिल्ला समयमा हाम्रा प्रधानमन्त्री ओलीले के भनिरहनु भएको छ र गरिरहनु चै के भएको छ भन्ने स्वस्थ मनले तथ्यगत चिन्तन गर्दा धेरै घोत्लिनु पर्ने अवस्था होइन । तर पनि देशको कार्यकारी प्रमुखका बोलीबचन र क्रियाले आमनागरिकका तन्तुहरुलाई पनि हल्लाउने हुँदो रहेछ । नागरिकको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने नै रहेछ । 

अहिल्यै पनि देश कोरोना महामारीको चरम प्रभावमा छ । दिनदिनै जनताको ज्यान गइरहेको छ । कोभिडपछि गरिबीको रेखामूनि पुग्नेको संख्या ६८ लाख पुगेको छ । यो अवस्थालाई उकास्न सरकार क्रियाशील हुनुपर्नेमा संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नै नगरेको अवस्थामा प्रधानमन्त्रीले चै सन्किएर संसद विघटन गर्दिनु भयो र देशलाई लगभग राजनीतिक अस्थिरताको बल्याक होलतर्फ जाकिदिनु भयो ।  

 प्रधानमन्त्रीले सनकका भरमा प्रतिनिधिसभा विघटन गरेपछि यतिबेला जसरी आमनेपालीको मन विरक्तिएको मात्रै हैन, आक्रोसले भरिएको छ । नेतृत्वले जनचाहनाविपरीत कार्य गर्दा जनताको मनमा कतिसम्मको पाराकम्पन पैदा हुँदोरहेछ भन्ने उदाहरण खोज्न धेरै अगाडिका घटना सम्झिरहनु पर्दैन । ओलीले प्रतिनिधिसभा विघटन गरेकै घटना र परिणाम सम्झे पुग्छ ।  

प्रधानमन्त्रीले रावललाई ‘केटो बढ्ता कुरा गर्छ’ मात्रै भन्नु भएन । धनगढीको सभामा देशको प्रधानमन्त्रीले रावललाई बन मास्न लागेको संगीन आरोपसमेत लगाउन भ्याउनु भयो । त्यो टिप्पणी सुन्दा त झन् कति आश्चर्य लाग्यो भनिसाध्यै छैन् । उक्त टिप्पणी सुनेर मनमा उब्जिएको अर्को भारि प्रश्न चै– हाम्रा प्रधानमन्त्रीलाई को तस्कर हो, को माफिया हो, सबै केस्राकेस्रा थाहा छ । तर उहाँ अनुसन्धान गरेर कार्वाहीको दायरामा ल्याउनुको साटो सार्वजनिक सभामा गाली गरेर रिस मेट्नु हुन्छ । आफु चै बनकै मुद्दा खेपेका ब्यक्तिलाई बन मन्त्री बनाउनु हुन्छ । 

यसैमा पनि भीम रावललाई फगत आरोप लगाइरहँदा बन मास्ने तथ्य छ भने कुन कुराले रोक्यो प्रधानमन्त्रीलाई अनुसन्धान गरी कार्वाही गर्न ? । अहिलेसम्म त डाडुपन्यु त आफ्नै हातमा छ नि हैन र ? ।

प्रधानमन्त्री ओलीले रावलप्रति अर्को टिप्पणी पनि गर्नु भयो नाम नलिइकनै । प्रदेश विकासको बाधक भीम रावल हुन् र उनलाई चुनावमै ठिक पार्नुपर्छ भन्ने मास अपिल पनि गर्नु भयो । उहाँले भन्नु भयो, ‘त्यस्तालाई गाउँमै ठेगान लगाउँनु पर्छ, माथि आएपछि हैरान पार्छन् ।’ यो टिप्पणीबाट पनि थप प्रष्ट हुन्छ कि रावलले राष्ट्रहीतका पक्षमा लिएका अडानले प्रधानमन्त्रीलाई कति धेरै हैरानी भएको रहेछ ।  

त्यतिमात्रै हैन, बहालबाला मन्त्री नै अर्को सम्मानित नेतालाई उफ्रिउफ्रि ‘पागल’ भनिरहेका छन् । ती मन्त्री आफ्नो दिमाग र मुखमा आएजति रावललाई मनगढन्ते शब्दमा निकृष्ट गालीगलौज गरिरहेको सुन्दा प्रधानमन्त्री ओलीले आफू निकट नेता कार्यकर्तालाई कस्तो राजनीतिक कल्चर प्रेरित गरिरहनु भएको छ भन्ने स्पष्टै झल्किन्छ । 

त्यसैले नेता भीम रावललाई प्रधानमन्त्री ओलीले कतिधेरै तगारो मानिरहनु भएको छ र रावललाई प्यारालाइज गराउन कति तल्लिन हुनुहुन्छ भन्ने कुरा बुझ्न अब कुनै खोजपडताल गरिरहनु पर्दैन । बरु रावलप्रति यतिधेरै आक्रोस किन छ ?, किन घेर्न चाहनु हुन्छ त भन्ने विषयमा भने गम्भिर समिक्षाको आवश्यकता छ । तथ्य थाहा पाउन जरुरी छ । तथ्य र पुष्ट्याईका आधारमा रावललाई घेर्ने गलत चिन्तन र योजनाको प्रतिरोध नागरिक तहबाटै हुन जरुरी भइसकेको छ ।  

घटनाक्रमहरुलाई सम्झिदा यस पछाडिका केही कारणहरु प्रष्ट हुन्छन् । प्रधानमन्त्री ओलीको मनमा भीम रावल मात्रै चुप्प बस्दिएको भए वा आफ्ना सबैखाले प्रयत्नहरुमा सहीछाप गरेको भए मनचाहिँदो गर्न पाइनेथ्यो भन्ने कुरा गढेको प्रष्टै देखिन्छ । सायद यहि निष्कर्षमा ओली सुदूरपश्चिमबाटै रावललाई घेर्न चाहनु हुन्छ । 

राष्ट्रहित, संविधान र पार्टीको सिद्धान्त, विधि र नीति विरोधी अनेक काम प्रयासलाई 
जब रावलले दृढतापूर्वक रोक्न जुन भूमिका निर्वाह गर्नु भयो, त्यसप्रति ओलीको खुबै 
आक्रोश छ । त्यसैले यस बेला आएर रावल मात्रै नभएको भए सब ठिकठाक हुन्थ्यो 
भन्ने लागेको हो प्रधानमन्त्री ओलीलाई । 

राष्ट्रहित, संविधान र पार्टीको सिद्धान्त, विधि र नीति विरोधी अनेक काम प्रयासलाई जब रावलले दृढतापूर्वक रोक्न जुन भूमिका निर्वाह गर्नु भयो, त्यसप्रति ओलीको खुबै आक्रोश छ । त्यसैले यस बेला आएर रावल मात्रै नभएको भए सब ठिकठाक हुन्थ्यो भन्ने लागेको हो प्रधानमन्त्रीलाई । 

एमसीसी पारित गर्नबाट रावलले जसरी रोक्नु भयो, त्यसप्रति प्रधानमन्त्री ओलीलाई असाध्यै आक्रोस छ । त्यति मात्रै हैन, प्रधानमन्त्री ओलीले आँटेको सयूक्त सैन्य अभ्यासको विरोध, विदेशीलाई नागरिकता दिने चलखेलको विरोध, होली वाइन प्रकरणको कडा आलोचना, विषादी जाँचमा रोक प्रकरण, आइफा अवार्ड योजनाको चर्को विरोध, बालुवाटार जग्गा प्रकरण लगायतका राष्ट्र«का लागि अहित हुने कार्यहरु गर्नबाट रोकेकै कारण रावललाई ओलीले निसानाको केन्द्रभागमा राख्नु भएको हो भन्ने कुरा अनेक तथ्यले पुष्टि गर्छ । त्यसैमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीलाई फुटउन्मूख गराइरहँदा सुदूरपश्चिममा रावलले जसरी आफ्नो होल्ड कायम गर्नु भयो, त्यसबाट पनि प्रधानमन्त्रीलाई असाध्यै जलन भएको प्रष्टै छ ।  
हाल सर्वोच्च अदालतमा छिनोफानोकै क्रममा रहेको भएपनि अधिकांशले प्रधामन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको घटना संविधानसम्मत नभएको, जनादेशको अपहरण गरेर संसदको हत्या गरेकोप्रति चर्को आलोचनाको अगुवाई गरेकाले रावल प्रधामन्त्रीका लागि तगारो भएका हुन् । 

एमसीसीका प्रावधानहरुको विरोध, सयूक्त सैन्य अभ्यासको विरोध, 
विदेशीलाई नागरिकता दिने चलखेलको विरोध, होली वाइन प्रकरणको कडा 
आलोचना, विषादी जाँचमा रोक प्रकरण, आइफा अवार्ड योजनाको चर्को विरोध, 
बालुवाटार जग्गा प्रकरण लगायतका राष्ट्र«का लागि अहित हुने कार्यहरु गर्नबाट 
रोकेकै कारण रावललाई ओलीले निसानाको केन्द्रभागमा राख्नु भएको हो ।       

जेसूकै होस्, यतिबेला प्रधानमन्त्री ओलीले जसरी भीम रावललाई मुख्य निसाना बनाउनु भएको छ । तर उहाँको निसानाले उद्देश्य प्राप्त गर्ने सम्भावना न्यून मात्रै हैन, लगभग शुन्य छ । किन कि सुदूरपश्चिमेलीका नजरमा भीम रावललाई वर्तमानले बाकावीर, भीमदत्त पन्त, जयपृथ्वीबहादुर सिंह, दशरथ चन्दजस्ता महान देशभक्त सपुत जन्माएको सुदूरपश्चिमको पवित्र भूमिले यतिबेला समय परिवेशअनुसार अगाडी उभ्याएको छ । 

नेपाली जनता, राष्ट्रहित र संविधानको रक्षा गर्न सुदूरपश्चिमकै भूमिले जन्माएका भीम रावल दृढ प्रतिज्ञ रहेको घटनाक्रम, राष्ट्रहीतका पक्षमा लिने गरेका अडानकै कारण उहाँमाथि अहिले अनेकन आरोप, अचाक्ली घेराबन्दी, विभिन्न प्रकारका धम्की तथा चुनौतिको पर्रा छुट्ने गर्छ । तर पनि त्यसता आरोप र जालहरुको कुनै प्रवाह नगरी कहिकसैको धक्काले डग्मगाउन नसक्ने गरी रावलले आफूलाई चट्टान झै उभ्याउनु भएको देखिन्छ । समय र परिवेशअनुसार देशलाई आवश्यक परेअनुसार राष्ट्रियताको रक्षा र स्वतन्त्रता प्राप्तिको लागि संघर्षको मैदानमा आफुलाई उतार्नेहरु थोरै हुन्छन् । ती थोरै मध्ये रावल पर्नु हुन्छ । 

सँगसँगै अर्को पाटोमा पनि थोरै कुरा गरौं । प्रधानमन्त्री ओली रअका प्रमुख सामन्त गोयल राति एकान्तमा भेटेको कुराबारे किन चुइक्क बोल्नु हुन्न ?, किन गर्नु हुन्न खण्डन ? किन कि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल कात्तिक ४ गते वायुसेनाको विमान लिएर हल्लाखल्ला गर्दै काठमाडौं ओर्लिए र बालुवाटार छिरेर ओलीसँग मध्यरात दुई घण्टा छलफल गरेर फर्किए । गुपचुप वार्तामा के कुरा भयो ? जनताले जवाफ खोजिरहेका भएपनि प्रधानमन्त्री ओलीले अहिलेसम्म खुलाउनु भएको छैन । तर पछिल्ला घटनाक्रमको परिणाम हेर्ने हो भने ओलीले नाकाबन्दी र नक्सा सार्वजनिक गर्ने बेला खेलेको राष्ट्रवादको कार्ड भारतले कात्तिक ४ गते मध्यरात गोयललाई पठाएर फिर्ता लगिसक्यो ।  

गोयल प्रकरण सेलाउन नपाउँदै भारतीय सेनाप्रमुख नरवणेको ०७७ कात्तिक १९ को आगमन भयो । लिपुलेक सीमा विवादका विषयमा विवादास्पद टिप्पणी गरेका नरवणेलाई उक्त विवाद कायमै रहेका बेला काठमाडौं आउने निम्तो दिइएको थियो । 

अर्कोतिर प्रधानमन्त्रीले आन्तरिक राजनीति चर्किरहेका बेला मंसिर २५ गते भारतको सत्तारूप दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालाई एकाएक काठमाडौं ओराल्ने चाँजोपाँजो मिलाए । चौथाइवासँग प्रधानमन्त्रीको भेट पनि सुरुमा गोप्य नै राख्न खोजिएको थियो । तर चौथाइवाले आफैंले ट्वीट गर्दै सबै भेद खोलिदिएपछि गोप्य रहन सकेन ।


-लेखक नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष हुन् ।
 



मङ्गलबार ०६, माघ २०७७ ०८:५३ मा प्रकाशित

#भीम रावल #प्रधानमन्त्री #केपी शर्मा ओली #अर्जुन शाह

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस