दाहाल–नेपालले सोधे ओलीलाई स्पष्टीकरण

दाहाल–नेपालले सोधे ओलीलाई स्पष्टीकरण

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेको स्पष्टीकरणपत्र प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा लगेर बुझाएको छ।

उक्त समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन किन नगर्ने भन्ने प्रश्न सोध्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनेको हो। स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त) पत्र बुझाउन बालुवाटार पुगेका थिए।

‘प्रधानमन्त्री ओलीलाई पार्टी स्थायी समिति बैठकले गरेको निर्णयका आधारमा सोधिएको स्पष्टीकरणपत्र लिएर सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र म बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थियौं। तर, त्यहाँ हामीलाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन। हामीले स्पष्टीकरणपत्र लिएर आएको जानकारी गराएका थियौं’, केन्द्रीय कार्यालयका सचिव ढकालले भने, ‘गेटका सुरक्षाकर्मीले भित्र सोध्नुभयो। अनि हामीले लगेको पत्र त्यहीँ  बुझेर राख्नुभयो।’

उक्त समूहको माघ २ गते बसेको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। केन्द्रीय कमिटीले पदबाट हटाए पनि ओलीले अध्यक्षकै रूपमा सार्वजनिक रूपमा पार्टीविरोधी गतिविधि जारी राखेकाले विधानको धारा ५६ (ख) को उपधारा १० बमोजिम स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ। पत्रमा भनिएको छ, ‘तपाईंलाई पार्टी अध्यक्षबाट हटाइसकेपछि पनि पार्टी निर्णयको उल्लंघन गर्दै आफूलाई पार्टी अध्यक्षकै रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्ने र पार्टीविरोधी गतिविधि गर्ने कार्य जारी राख्नु भएको छ।’ ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरीत र पार्टीविरोधी गतिविधि गरिरहनुभएकाले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन किन नगर्ने ?’ पत्रमा भनिएको छ। पार्टी स्थायी कमिटीको माघ २ गतेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेअनुरूप पार्टी विधानको धारा ५६ (ख) को उपधारा १० बमोजिम यो पत्र लेखिएको बताइएको छ। 

माघ ५ को मितिमा पत्र संख्या ०७७/०७८ र चलानी नम्बर ०२६ रहेको र ओलीलाई केन्द्रीय सदस्य सम्बोधन गर्दै स्पष्टीकरण पत्र पठाइएको हो। ‘पार्टीविरोधी गतिविधि गरिरहनुभएका तपार्इंलाई पार्टीको सदस्यबाट निष्कासन किन नगर्ने ? यो पत्र प्राप्त गरेको वा तपाईंको निवासमा टाँस गरिएको मितिले ३ दिनभित्र स्पष्टीकरण दिनुहोला’, ओलीलाई पठाइएको पत्रमा भनिएको छ, ‘यदि ३ दिनभित्र चितबुझ्दो स्पष्टीकरण नदिएमा तपार्इंलाई थप कारबाही गरिने व्यहोरा पनि सूचित गरिन्छ।’ 

दाहाल–नेपाल खेमाले ओलीलाई यसअगाडि अध्यक्ष पदबाट हटाउने निर्णय लिएको थियो। ओलीलाई अध्यक्षबाट हटाएपछि यो समूहले अध्यक्षमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।