प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १११ रनको सामान्य लक्ष्य पुलिसले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
पुलिसका लागि सुनील धमलाले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले पनि अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ९ चौका र १ छक्कासहित ५१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि हेमन्त धामीले एक विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३१ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । त्यस्तै, सन्जु धामीले ३५ रन बनाउँदा अरुण ऐरीले १३ रन जोडे ।
बलिङतर्फ पुलिसका लागि सागर ढकालले ४ विकेट लिए । १० ओभर बलिङ गरेका सागरले तीन मेडन ओभर फालेर १८ रन खर्चे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए । दीपेन्द्रले ६ ओभर १ बल बलिङ गरेर दुई मेडन ओभर फाल्दै १० रन खर्चे ।
जितसँगै पुलिसले समूह ‘बी’मा दुई खेलबाट २ अंक जोडेको छ । सुदूरपश्चिमको भने यो दोस्रो हार हो ।