सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भोलिदेखि कक्षा सञ्चालन गर्ने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भोलिदेखि कक्षा सञ्चालन गर्ने

सुदूरपश्चिम विश्व विद्यालयले भोलिदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण विगत महिनौदेखी ठप्प रहेको सुदूरपश्चिम विश्व विद्यालयका कक्षाहरु स्वास्थ्यको आवश्यक मापदण्ड अपनाएर सञ्चालन गर्ने जनाएको छ ।

कोरोना महामारीले विश्वभरी आक्रान्त बनाएको समयमा शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । महामारीको क्रममा अनलाइन परीक्षा सञ्चालन गर्न सफल भएको विश्व विद्यालयले कोरोना महामारीमै आवश्यक सुरक्षा मापदण्ड अपनाएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

‘कोरोना महामारी नभनेर विश्वविद्यालयले शैक्षिक कार्यक्रमलाई अनलाइन माध्यमबाट भएपनि सञ्चालन गरिएको थियो’, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले पश्चिम टुडेलाई भने, ‘अनलाइन कक्षासँगै विश्वविद्यालयले अनलाइन परीक्षासमेत सम्पन्न गरेको अवस्था हो । असोजमा लिएको पहिलो परीक्षाको नतिजा प्रकाशित भइसकेको छ ।’

जिल्लाको हकमा अन्य क्षेत्रमा पनि कलेज सञ्चालन भइरहेका छन् । अन्य जिल्लामा पढाइ भइरहेकाले विद्यार्थीको अनुरोध अनुसार सामाजिक दूरी कायम गरेर भए पनि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जोशीले बताए । पुस ६ गते देखि अनलाइन कक्षा सञ्चालन गरेको विश्व विद्यालयले एक सूचना जारी गर्दै माघ ८ गतेदेखी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जनाएको छ ।

कक्षा सञ्चालन हुने भएपछि विद्यार्थी भने खुसी भएका छन् । लामो समय कोरोना महामारीका कारण क्याम्पसबाट टाढा बसेका विद्यार्थीलाई विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावकारी लागेको थिएन । भौतिक रुपले कक्षा सञ्चालन हुने भएपछि विद्यार्थीमा निकै उत्साह थपिएको छ । 

‘झण्डै एक वर्ष पछि भनौ अब हाम्रो भौतिक रुपमा कक्षा सञ्चालन हुने भएका छन्, कक्षा सञ्चालन हुनु भनेको राम्रो कुरा हो’, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी दिपक चन्दले भने, ‘अनलाइन कक्षा भएपनि कहिले हुने कहिले नहुने कारणले त्यति प्रभावकारी पनि थिएन ।’ विद्यार्थीलाई कक्षा सञ्चालन भएपछि मनोवैज्ञानिक असर पनि कम हुने विद्यार्थी चन्दको भनाई छ ।