अछाम । चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले प्रविधि मैत्रि स्थानिय तह बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताएका छन । बुधबार चौरपाटीमा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सुचना प्रणाली सम्बन्धि ४ दिने तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष साउदले यस्तो बताएका हुन ।
उनले गाउँपालिकालाई पारदर्शि, छिटोछरितो कार्य गर्न नेपाल सरकारको निर्णय अनुसार गाउँपालिकामा अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता गर्न लागिरहेको जानकारी दिए । नेपाल सरकारको सन २०२४ सम्म शत प्रतिशत अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले पनि अनलाईन घटना दर्तालाई प्राथमिकता दिईएको उनले बताए ।
यस्तै अध्यक्ष साउँदले गाउँपालिकाका सात वटै वडा कार्यालयबाट तत्काल अनलाईन सेवा कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । यसैगरी चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता गर्दा सबै स्थानिय तहमा एकरुपता हुने, दोहोरो दर्ता, कागज तथा ढड्डा च्यातिने, नासिने समस्या बाट मुक्त हुने र काम गर्न समयको सदुपयोग हुने हुदा अनलाईन सेवा प्रभावकारी रहेको बताए ।
समापन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कमल साउद, कृषि शाखा प्रमुख झप्पर भुल, सात वटै वडाका वडा सचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन एमआईएस अपरेटर कालु सिंह बोहराले गरेका थिए ।