बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका

बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका

४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट परेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमा डब्ल्युएचओमा फेरि फर्कनेदेखि जलवायु सम्बन्धीको पेरिस सम्झौतामा यकामै रहने तथा आप्रवासी नीतिमा नरम रहने नीति सार्वजनिक गरेका छन् ।

सपथग्रहणपछि ह्वाइट हाउस प्रवेश गर्नअघि महत्वपूर्ण निर्णय गर्ने संकेत गरेका उनले ट्वीटमार्फत भनेका थिए, ‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन ।’

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेको बीबीसीले उल्लेख गरेको छ ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’