प्रचण्ड-माधवको लभ स्टोरी टिक्दैन : प्रधानमन्त्री ओली

प्रचण्ड-माधवको लभ स्टोरी टिक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समूहले विभिन्न किसिमका हाउभाउ देखाएर सिनेमा देखाइरहेको टिप्पणी गरेका छन्। आफ्नो समूहको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले प्रचण्ड र माधव समूहले अनेक हाउभाउ देखाएर जनतालाई झुक्याइरहेको समेत आरोप लगाए। प्रचण्ड- नेपालको सम्बन्धलाई हिन्दी सिनेमासँगै तुलना गर्दै ओलीले यो सबै तमासा मात्र भएको जिकिर गरे।

‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधामसँग । हिरोइनी घाइते हुन्छ। हिरो ब्याकुल हुन्छ । दु:खी हुन्छ। रुन्छ । वास्तवमा केही पनि होइन।

न तिनीहरुको लभ पर्‍या हो।  घाइते पनि होइन। पीर परेको पनि होइन,' उनले भने,' यो सबै तमासा हो। त्यही मानिसहरु सिनेमा देखाउन आउँछन्। जनतालाई झुक्याउँछन्। हामीले त्यस्ता तत्तवहरुबाट सजक हुनुपर्छ।'

उनले लोकतान्त्रिक बाटोलाई सही बाटोमा लैजानका निम्ति आफूले राजनीतिक लडाइरहेका गरिरहेको बताए। सभ्य समाजमा मात्र मानिस सुखी हुनेभन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि जैविकी र मानवीय न्यायोचित आवश्यकताहरुको परिपूरित हुनुपर्नेमा जोड दिए।

'नेपाल समृद्धि हुनुपर्छ र नेपाली सुखी हुनुपर्छ। समृद्धिले मात्र सुख हुँदैन। त्यसका लागि जैविकी र मानवीय न्यायोचित आवश्यकताहरुको परिपूरित हुनुपर्छ। सामाजिक न्याय र समानता हुनुपर्छ। भयहरित वातावरण हुनुपर्छ। कसैबाट अपमानित नहुने अनुभूति सबैमा हुनुपर्छ।'

सम्बोधनका क्रममा  प्रधानमन्त्री ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् ।  ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, ओलीले भने । 

प्रचण्ड-नेपाल समूहका विद्यार्थीले पेरिसडाँडामा संसद विघटनविरुद्ध कालो झन्डा उडाएपछि प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।