संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपना बढेकोले स्वास्थ्यमा सामान्य समस्या देखिएको हो । हिँडडुल गर्न नसक्ने भएपछि सात दिनयता चिकित्सकको निगरानीमा उनलाई बखुम्वहालस्थित घरमै राखिएको छ । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकोले उपचार भइरहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाइ छ ।

हिँडडुल गर्न अप्ठेरो भएपछि सात दिनअघि उनलाई किष्ट मेडिकल कलेजमा लगिएको थियो । डाक्टरले ठूलो समस्या नदेखिएकोले घरमै आराम गरेर बस्न भनेका छन् । उनको स्वास्थ्य अवस्थाबारे बुझ्दा घरमै स्वास्थ्यकर्मी राखिएको छ । उनको उपचारमा संलग्न नर्स पुनम भुसालले शरीरमा कमजोर र आलस्यता बढेका कारण समस्या देखिएको बताइन् ।

‘उहाँको स्वास्थ्य सामान्य नै छ,’ उनले भनिन्, ‘उमेरको हिसाबले पनि केही कमजोरी हुने बेला हो, तर उहाँमा त्यस्तो ठूलो समस्या केही होइन, शरीरमा कमजोरीपन मात्रै बढेको हो ।’

शरीर कमजोर भएपछि उनलाई किष्ट मेडिकल कलेजमा लगिएको थियो । उमेरले १०१ वर्ष पुगेका जोशी सहज भएर कुराकानी गर्न सक्छन् । बिरामी हुनु अघि उनी घर वरपर हिँडडुल गर्न सक्ने भए पनि सात दिनयता उभिएर हिँड्न सकेका छैनन् ।

शरीरमा अन्य समस्या नदेखिएको आराम गरेपछि निको हुने उपचारमा संलग्न चिकित्सकको भनाइ छ । नेपाली तथा नेवारी भाषा–संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका जोशी १०१ वर्ष पुगिसकेका छन् । उनको उपचार खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने बताएको छ ।नागरिकबाट