बिक्न छाडे बझाङ्गी ऊनी उत्पादन !

बिक्न छाडे बझाङ्गी ऊनी उत्पादन !

बझाङ । मंसिर सुरु भएदेखि नै हिमाली जिल्ला बझाङमा जाडो बढेको छ । खेतीपातीको काम पनि खासै नहुने भएकाले यहाँका प्रायः गाउँका मानिस फुर्सदिला छन् । पुरुषहरू परिलो घाम ताप्दै कतै तास, क्यारिम खेल्दै गरेका भेटिन्छन् भने कतै गोलो हालेर गफिँदै । महिला भने घरको काम, मेलापात र सरसफाइमै व्यस्त देखिन्छन् ।

जिल्लाका प्रायः गाउँमा देखिने यस्तो दृश्य उस्तै भए पनि हिमाली क्षेत्रको साइपाल गाउँपालिकाका बासिन्दाको हिउँदे दिनचर्या फरक छ । हिउँद सुरु भएदेखि नै फुर्सदिला भएका साइपालबासीका प्रायः घरका आँगनमा चानभाँडा (तान) लगाइएको छ । यहाँ के वृद्धवृद्धा, के युवा सबैलाई भेडाच्यांग्राको ऊनका लिउ, फेर्‍या, चुक्दन, राडीपाखी, कम्मल, कोट, बक्खु आखि बुन्ने चटारो छ ।

‘हिउँद लागेपछि यताका मान्छेको कामै यही हो,’ धुलीका तर्जन लामाले भने, ‘एक हिउँदमा एक परिवारले ३०/४० थानसम्म ऊनी कपडा बनाउँछन् ।’ कपडाको किसिम र साइज हेरेर हाते तानमा एक थान बनाउन ४ देखि १० दिनसम्म लाग्ने गरेको उनले बताए । साइपालका बढी भेडापालन हुने धुली, न्युना, बलौडी, काँडा, धलौनलगायत गाउँमा बर्सेनि ठूलो मात्रामा हाते तानमा बुनिएका ऊनी कपडा उत्पादन हुने भए पनि यसले व्यावसायिक रूप लिन नसकेको स्थानीयको भनाइ छ ।

कपडाको किसिम हेरेर स्थानीय बजारमा प्रतिथान ५ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि भनेजस्तो बजार नपाउँदा यसको उत्पादनले गति लिन नसकेको धुलीकै श्याम लामाले बताए । ‘एउटै चुक्दन (ओछयाउने एक प्रकारको ऊनी गलैंचा) को १५ हजार रुपैयाँसम्म पर्छ । तर किन्ने मान्छे नभएकाले सबैले आफूलाई आवब्यक मात्रै बनाउँछन्,’ उनले भने, ‘बजारमा राम्रो बिक्री भयो भने एकै परिवारले वर्षमा एक–डेढ सय थानसम्म पनि बुन्न सक्छन् ।’ गाउँपालिकामा मात्रै २० हजारको हाराहारीमा भेडाच्यांग्रा रहेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको तथ्यांक छ । जिल्लाको झन्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकामा प्रशस्त चरन क्षेत्र रहेकाले स्थानीयको मुख्य पेसा पशुपालन नै हो ।

गर्मीयाम सुरु भएपछि भेडाच्यांग्राबाट ऊन निकालेर थन्काउने र हिउँदमा त्यसलाई कात्ने अनि कपडा बुन्ने काम गर्ने गरिएको धलौनका घुरन बोहराले जानकारी दिए । केही वर्षअघिसम्म यहाँ उत्पादित कच्चा ऊन जिल्लाभर बिक्री हुने भएकाले स्थानीयले ऊनको व्यापारकै लागि पनि भेडा पाल्ने गरेका थिए । पछिल्लो समय भने आधुनिक कपडाले गर्दा ऊनीको व्यापार घटेपछि उनीहरू निरुत्साहित भएको बोहराको भनाइ छ । ‘अहिले ऊनीका भन्दा पनि बजारिया कपडाको माग छ । त्यसैले भेडा पाल्ने पनि घटेका छन्,’ उनले भने ।

तीन हजारभन्दा कम जनसंख्या रहेको गाउँपालिकामा सात सयभन्दा बढी मानिसमा ऊनीका कपडा बुन्ने सीप रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए । ‘ऊनी कपडा बनाउने यहाँका स्थानीयको सीप र स्रोतलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भनेर गाउँपालिकाका तर्फबाट अध्ययन गरिरहेका छौं,’ उनले भने । साइपालमा उत्पादित ऊनी कपडालाई गाउँपालिकाले सदरमुकामसम्म ढुवानीको व्यवस्था मिलाउने र जिल्ला बाहिर पनि बजार खोज्ने काम गरिरहेको उनले बताए । -यो खबर कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंह ले लेखेका छन् ।