ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं । सप्तरी र तनहुँमा भएका ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकामा–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ट्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा ग १ त ३७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । ट्याक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापा प्रहरी नियन्त्रणमा छन् ।