अमेरिका साझा चुनौतीको सम्बोधन गर्न नेपाल सँग साझेदारी गर्न इच्छुक

अमेरिका साझा चुनौतीको सम्बोधन गर्न नेपाल सँग साझेदारी गर्न इच्छुक

काठमाडौं । अमेरिकाले साझा चुनौतीको सम्बोधन गर्न नेपाललगायत मुलुकसँग साझेदारी गर्न चाहेको बताएको छ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी ओलीसँग भेट गरी अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनका उच्च प्राथमिकताका विषयमा जानकारी दिएका हुन्।

बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने भएकाले त्यसको सम्बोधन गर्न नेपालसहित अन्य देशसँग साझेदारी गर्न इच्छुक रहेको अमेरिकी राजदूतावासले जनाएको छ।

‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौं। हामी हाम्रा गठबन्धन मर्मत गर्नेछौं र विश्वसँग फेरि संलग्न हुनेछौं, हिजोका हैन, आज र भोलिका चुनौती सामना गर्न’, बाइडनको भनाइ उद्धृत गर्दै दूतावासले भनेको छ, ‘हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन, हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौं। हामी शान्ति, प्रगति र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौं।’

अमेरिकी नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणका रूपमा कूटनीतिलाई प्रयोग गर्ने जानकारी बेरीले प्रधानमन्त्री ओलीलाई गराएको जनाइएको छ। ‘राष्ट्रपति बाइडन कोभिड–१९ जस्ता साझा चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्नुहुन्छ। त्यसका लागि राष्ट्रपति बाइडनले विश्व स्वास्थ्य 

संगठनमा अमेरिकाको सदस्यता पुन: सुचारु गर्नुहुनेछ’, उनले बेरीले भनेका छन्, ‘उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुन:स्थापना र नेपाललगायत विश्वभरका प्रजातान्त्रिकहरूसँगको साझेदारी पुनर्जीवित गर्नुहुनेछ।’

उनले आफ्नो एक अग्रणी कामका रूपमा बाइडन पेरिस जलवायु सम्झौतामा पुन: सामेल भएको जानकारी दिए। बाइडनले अमेरिकालगायत देशको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्नेछन्।

बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेको बताएका थिए। उनले सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका असरलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरेका थिए।

बेरीका अनुसार बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिका अधिकारको उत्थानमा केन्द्रित हुने गरी मानवअधिकारको नेतृत्व लिनेछ। यी विषयमा सँगै काम गर्न आफू उत्सुक रहेको राजदूत बेरीले बताए।

प्रधानमन्त्री ओलीसँगको यो भेट नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरू छलफल गर्न राजदूत बेरीले गर्ने उच्चस्तरीय बैठकमध्ये एक भएको अमेरिकी राजदूतावासले जनाएको छ। दूतावासका अनुसार छिट्टै राजनीतिक दलका नेता, सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गरेर नयाँ प्रशासनको प्राथमिकताबारे जानकारी गराउने कार्यक्रम छ। -अन्नपुर्ण पोष्टमा खबर  छ ।