स्वार्थको लागि जिन्दगीमा खुट्टा नै छुन सकिएन।
मलाई बुझेनन कसैले आफुले बुझाउन सकिएन।
लाग्छ गल्ती सायद त्यतिबेला नै भैसकेको थियो,
कसैलाई बा भनिएन, कसैको ज्वाइँ हुन सकिएन।
सहनशीलतालाई कमजोरी ठान्दा रहेछन सायद,
जातै बैगुनी रहेछ मान्छेको लगाउन गुन सकिएन।
अँध्यारो बस्तिको मान्छे उज्यालो देख्दैन अभागी,
मैले टिपेर उपहार दिन आकासको जून सकिएन।
कति लडाइँ हामीले पनि लडेका थियौँ बिर्सिएछौ,
समताका कुरा गरिए तर बनाउन कानुन सकिएन।
आफ्नै छातिमाथी दौडिएका जस्ता लाग्छन नेता,
स्वार्थी गुट बन्दैछन अझै सायद मनसुन सकिएन।
२०७७/१०/०९ महेन्द्रनगर