आतंकवादी हमला हुन सक्ने सूचनापछि भारतको राजधानी दिल्लीमा ‘हाई अलर्ट’

आतंकवादी हमला हुन सक्ने सूचनापछि भारतको राजधानी दिल्लीमा ‘हाई अलर्ट’

आतंकवादी संगठनले हमला गर्ने तयारी गरिरहेको सूचना पाएपछि भारत सरकारले राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आउने मंगलबार (जनवरी २६) का दिन आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा हमला गर्ने तयारी गरिरहेकाे सूचना प्राप्त भएकाे हाे। रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा हमला गर्न सक्ने अनुमान गरिएको छ।

देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको बताइएको छ। यसको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई हाई अलर्टमा राखिएको हो।

दिल्लीसहित देशका कुनै पनि स्थानमा आतंकवादीले हत्या/हिंसा मच्चाउन सक्ने आशंका भारत सरकारले गरेको छ। आतंकवादीले जारी किसान आन्दोलनको आड पनि लिन सक्ने आशंका भएपछि सुरक्षा एजेन्सी उच्च सतर्कतामा रहेकाे हाे। 

केन्द्रीय गृह मन्त्रालय दिल्लीसहित धेरै राज्य सरकार र प्रहरी प्रमुखसँग सम्पर्कमा छ।

दिल्ली प्रहरीको आतंकविरोधी दस्ता अर्थात् स्पेसल सेलका एक वरिष्ठ अधिकारीले आतंकवादी आक्रमणको गम्भीर संकेत पाइएको बताएका छन्। उनका अनुसार आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा समेत हमला गर्न सक्छ। यसको तयारीका लागि रोहिंग्याको एक समूह प्रशिक्षणमा रहेको उनको दाबी छ।

यसका साथै खालिस्तान, उत्तरपूर्वी राज्यका उग्रवादी संगठन र जम्मु-कस्मिरका केही आतंकवादी संगठन एक भएका छन्। दिल्लीमा ठूलो दंगा भड्काउने एक संस्थाले पनि आतंकवादी संगठनलाई साथ दिएको सूचना प्राप्त भएको छ। यो सूचना गत हप्ता प्राप्त भएको ती अधिकारीले बताएका छन्।

आठ रोहिंग्या पक्राउ
भारतको राजधानी दिल्लीमा घुसपैठ गरेका आठ रोहिंग्यालाई उत्तम नगर र दिल्लीबाट पक्राउ गरिएको छ। घुसपैठ गरेकालाई पहिलोपटक पक्राउ गरिएको हो। उनीहरूकाे समूहले आक्रमण गर्ने आशंका गरिएको हो।