प्रधानमन्त्री कप : सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप : सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । उसले आइतबारको खेलमा प्रदेश–२ माथि   ३ विकेटको जित हात पारेको हो । 

प्रदेश–२ ले दिएको १९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका लागि सञ्जु धामीले अर्धशतकीय पारी खेले । २५.३ ओभरमा हरिशंकर शाहको बलमा दिव्यांशु मल्लिकबाट क्याच भएका उनले ३५ बलमा ८ चौका र २ छक्काको मद्दतले ५७ रन प्रहार गरे । कप्तान खडक बोहोराले ४३ र गजेन्द्र बोहोराले ३९ रनको योगदान दिए । 

प्रदेश–२ का लागि कुमार थापाले ३, हरिशंकर शाहले २, विवेक यादव र रवि शाहले समान १–१ विकेट हात पारे । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश–२ ले ४५ ओभरमा सबै विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको थियो ।  

उसका लागि हरिशंकर शाहले अर्धशतकीय पारी खेले । २२.३ ओभरमा शेर मल्लबाट बोल्ड भएका उनले ७३ बलमा ९ चौकाको मद्दतले ६० रन बनाए । विवेक यादवले ४१, महबुब आलमले २३ रनको योगदान दिए । ११ रनमा अविजित रहेका कुमार थापाले १६ बलको समाना गर्दै १ छक्का प्रहार गरे । 

सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले समान ३–३,अरुण ऐरीले २ विकेट हात पार्दा हेमन्त धामी र भोजराज भट्टले समान १–१ विकेट लिए ।  प्रदेश–२ यसअघिका खेलमा लुम्बिनी प्रदेशसँग ७७ रन र बागमती प्रदेशसँग ६ विकेटले पराजित भएको थियो । 

सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग ९ विकेट, बागमती प्रदेशसँग १८० रन र लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको थियो ।