जनताका मुद्दा उठाउने पत्रकारहरूलाई दुर्व्यवहार गर्नु जनताको दुर्व्यवहार गर्नु हो: अध्यक्ष देउवा

जनताका मुद्दा उठाउने पत्रकारहरूलाई दुर्व्यवहार गर्नु जनताको दुर्व्यवहार गर्नु हो: अध्यक्ष देउवा

धनगढी । समाचार संकलनका क्रममा मालपोत कार्यालय कैलालीका कार्यालय प्रमुख सुरेन्द्र केसीले रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि गरेको दुर्व्यवहारको भिडियोसहितको खबर सार्वजनिक भएपछि  कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार को चौतर्फी आलोचना भएको छ । 

अहिले विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबिच नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवाले सो घटना निकै निन्दनीय भएको बताएका छन् ।

रेडियो धनगढीको लोकप्रिय कार्यक्रम सुदूर बहसमा बोल्ने क्रममा अध्यक्ष देउवाले भने, 'हाकिम साह्रै विवेक नभएको मान्छे जसरी प्रस्तुत भएका छन् ।  उनले जवाफ दिनुपर्ने ठाउँमा जस्तो व्यवहार गरे, त्यो शैली दुखद, निन्दनीय र गलत छ ।'

साथै उनले सरकारी संयन्त्र कमजोर हुँदा यस्ता अराजक तत्त्वहरूको मनोमानी बढेको बताउँदै भने, 'जनताका मुद्दा उठाउने पत्रकारहरूलाई दुर्व्यवहार गर्नु भनेको जनताको दुर्व्यवहार गर्नु हो । यसतर्फ सबै जना सचेत हुनुपर्छ ।' उनले भने ।