अछाममा सक्रिय कोरोना संक्रमितको संख्या शून्य

अछाममा सक्रिय कोरोना संक्रमितको संख्या शून्य

अछाम । अछाममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा पुगेको छ । जिल्लामा कोरोना भाइरसका संक्रमित सबै निको भएर घर फर्केपछि कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

कुनै बेला ८ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको अछाम जिल्लामा हाल १० वटै स्थानीय तहहरूमा कोरोना भाइरसका संक्रमित बिरामीहरू कोरोना सक्रमणमुक्त भएको उहाँले बताउनु भयो ।

जिल्लामा १ हजार ६ सय ६८ जनामा कोरोना संक्रमण भएकोमा १ हजार ६ सय ६३ जना निको भएर घर फर्किएसँगै अछाम जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमित मध्ये पाँच जनाको भने ज्यान गएको छ ।

जिल्लाको कमलबजार नगरपालिकामा १ सय ३ जना, चौरपाटी गाउँपालिकामा ९६ जना ढकारी गाउँपालिकामा ३१ जान, तुर्माखाद गाउँपालिकामा ७२ जना, पञ्चदेवल विनायक नगरपालिकामा १ सय २ जनामा कोरोना संक्रमण भएको थियो ।

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा १ सय ८३ जना, मंगलसेन नगरपालिकामा ४ सय ५० जना मेल्लेख गाउँपालिकामा १सय ४७ जना, रामारोशन गाउँपालिकामा १ सय ८४ जना र साँफेबगर नगरपालिकामा ३ सय जना गरी जम्मा १६ सय ६८ जनामा संक्रमण भएको थियो ।

अछाममा हालसम्म १३ हजार ३ सय २७ को पीसीआर परीक्षणका लागि स्वाबको नमुना सङ्कलन भएको थियो ।