काठमाडौंका सडकबाट ४० जना मानिसको उद्धार

काठमाडौंका सडकबाट ४० जना मानिसको उद्धार

मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना मानिसको उद्धार गरेको छ ।आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ९ जना बालबालिकासहित ४० जनाको उद्धार गरेको हो ।

सोमबार राति चावहिल, बौद्ध, गोकर्णेश्वर लगायतका स्थानबाट १७ जना र मंगलबार बिहान पशुपति मन्दिर क्षेत्रबाट ९ जना बालबालिकासहित २३ जनाको उद्धार गरिएको आश्रमका अभियन्ता रामजी अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको सहयोगमा सडक मानवको उद्धार गरिएको उनले बताए ।

उद्धार गरिएका बालबालिकालाई बालबालिका खोज तलास केन्द्रको जिम्मा लगाइएको छ भने अन्य व्यक्तिहरुलाई मानव सेवा आश्रमको काठमाडौं, भक्तपुर र ललितपुर शाखामा व्यवस्थापन गरिएको अधिकारीले बताए ।