सुदूरपश्चिम प्रदेश : मुक्तकमैयाका दिन फेरिँदै

सुदूरपश्चिम प्रदेश : मुक्तकमैयाका दिन फेरिँदै

सुदुरपश्चिम । मुक्तकमैया सुन्दरी चौधरीले आफू पक्की घरमा बस्न पाइएला भनेर जीवनमा कहिल्यै सोचेकी थिइनन् । तर मुक्ति पछिका दिनमा आएको सचेतना र काम गर्दा भएको आम्दानीसँगै अहिले उनले पक्की घरमा बस्ने हैसियत बनाएकी छिन् ।

कमैया बस्दाको तत्कालीन समयमा मालिक ९जग्गा धनी० को घर परिसरमा बनाइएको फुसको छानो भएको छुट्टै कच्ची घरमा  परिवार बस्ने गथ्र्यो । मुक्तिसँगै पति नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यवहारिक उपयोग गर्दै घर संरचना निर्माणको काम पाउँदा उहाँको परिवारको कमाइ हुन थालेको हो । यद्यपि कोरोनाको जोखिमका कारण केही महिना उनीहरु काम विहीन भएका थिए ।

‘‘विगतमा कच्ची घर टहरामा बसेर मालिकले लाए अह्राएको काम गर्नुपर्दा झेलेको दुःख कष्टले आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन’’, उनले भने, ‘‘मुक्तिपछिका दिनमा हामी दुबै जनाले सीप सिकेर गरिरहेको कामले आम्दानी हुँदा अहिले सन्तुष्ट भएकी छु ।’’ पतिको कामलाई सघाउँदै जाँदा आफूले पनि डकर्मी काम सिकेको उनको भनाइ छ ।

आर्थिक समस्याकै कारण कुनै समयमा छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उहाँका चार छोराछोरी अहिले नजिकैको विद्यायमा गएर पढ्ने गरेका छन् । मुक्तकमैया बस्तीकै वसन्तीदेवी चौधरी बेलबखत बस्तीका परिवारमा आइपर्ने समस्या समाधानका लागि अगुवाइ गरिरहनुहुन्छ ।

‘‘बस्तीमा रहेका ५३ परिवारमध्ये नौ परिवारले अझैँ जग्गाको धनीपुर्जा पाउनसकेका छैनन्’’ आफ्नो दुई तले पक्की घर निर्माण गरिरहनुभएकी उहाँले भन्नुभयो, ‘‘नगर प्रमुखले जग्गाधनी लालपुर्जा उपलब्ध गराउने अश्वासन दिएका थिए,, तर अहिलेसम्म छुटेकाले पुर्जा पाउनसकेका छैनन् ।’’

धनगढी बजार छेउमा रहेको पुरानो हवाई मैदानमा बसोबास गरिरहेका पूर्व कमैयालाई सोही ठाउँमा प्रतिपरिवारलाई पाँचधुरका दरले जग्गा उपलब्ध गराई पुनःस्थापित गराइएको छ । पुनःस्थापित गराइएका सुन्दरी र वसन्तीसहितका झण्डै २५ परिवार मुक्तकमैयाले पक्की घर ठड्याइ सकेका छन् ।

आफैसँग घर चुनाइ गर्ने सीप भएकाले घर निर्माणका लागि चाहिने सामग्री जुटाउने बाहेक अन्यमा लागत नलाग्ने गरेको पूर्व कमैयाको भनाइ छ । ‘‘एक ठाउँमा पक्की घरको काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ”, अर्का मुक्तकमैया गोपाल चौधरीले भन्नुभयो, ‘‘काम गर्दा कमाइ हुने गरेकाले सन्तुष्टि पनि मिलेको छ ।’’

उनले कर्जा निकालेर विद्युतीय रिक्साको व्यवसाय शुरु गर्नुभएको छ । ‘‘रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु”, गोपालले भने, ‘‘निकालेको कर्जाको किस्ता तिर्न र घर खर्चको जोहो भइरहेकोमा पछिल्ला दिनमा कोरोनाको समस्याले सोचे जति आम्दानी भएको छैन ।’’

उनले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनु भएको छ । मुक्तकमैयाले पछिल्ला वर्षमा गरिरहेको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी हुँदा उनीहरुको जीवनयापन पनि पहिलेको भन्दा केही सहज बनेको देखिएको छ । योसँगै पूर्व कमैयाको जीवनशैली पनि फेरिन थालेको छ ।

साविकको जिल्ला भूमिसुधार कार्यालयको तथ्याङ्कअनुसार कैलाली जिल्लामा झण्डै चार हजार भन्दा बढी मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएको थियो । तीमध्ये झण्डै ७० प्रतिशतले अहिले आफ्नो सीपको व्यवहारिक सदुपयोग गरिरहेको अनुमान छ ।

मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बङ्गुरपालन, कुखुरापालन, तरकारीखेती, शैलुन व्यवसायलगायत विषयमा तालीम पाएका थिए । व्यवस्थित रुपमा बसोबास गराइएका मुक्तकमैयाको जीवनयापन सहज हुँदैगएको देखिए पनि पुनःस्थापित गराउन बाँकी पूर्व कमैया परिवारलाई भने समस्या रहेको मुक्तकमैयाका अगुवा बताउँछन् ।