चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दाका लागि सर्वोच्चमा निवेदन

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दाका लागि सर्वोच्चमा निवेदन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायरका लागि सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । 

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ताका लागि निवेदन दर्ता भएको हो । अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्ने गरी विज्ञप्ति प्रकाशित गरेको भन्दै उनीहरुविरुद्ध कुमार शर्माले मुद्दा दर्ताको निवेदन दिएका हुन् । 

सर्वोच्च अदालत स्रोतका अनुसार अवहेलना मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । पूर्व प्रधानन्यायाधीशहरूले न्यायिक आचरणविपरीत विज्ञप्ति जारी गरेको शर्माको दाबी छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि यस्तै मुद्दा दर्ताको लागि निवेदन पेस भएको छ । ढुंगानाले संविधानको भावनाविपरीत फैसला गरे न्यायाधीशलाई सडकबाट तान्ने अवस्था आउने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ताको तयारी गरिएको हो ।